नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कम्पनीमध्ये सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीहरु नै छन् ।
नेप्सेमा सूचीकृत हाइड्रो कम्पनीको संख्या ९० को हाराहारीमा पुगिसकेको छ जबकी नेप्सेमा सुचीकृत कुल कम्पनीको संख्या २ सय ४२ रहेको छ । कुल कम्पनीको करिब ३७ प्रतिशत ओगटेका हाइड्रो कम्पनीको आधारभूत विश्लेषण लगानीकर्ताका लागि निकै नै महत्वपूर्ण भइसकेको छ । हाइड्रो कम्पनीको संख्या अत्यधिक हुँदा धेरै कम्पनीको माझ सबैभन्दा उत्कृष्ट कम्पनी खोजेर लगानी गर्न कठिन कार्य भइसकेको छ । यसै सन्दर्भमा हाइड्रोको सहज आधारभूत विश्लेषण गर्न कुन कुन सूचकाङ्क हेर्न सकिन्छ भन्ने बारे अर्थसंसारले एक सामाग्री तयार गरेको छ । हेर्नुहोस हाइड्रोपावर कम्पनीको सामान्य विश्लेषण कसरी गर्न सकिन्छ :
विद्युत उत्पादन अवस्था : हाइड्रो कम्पनीको मूख्य आम्दानीको स्रोत हो विद्युत व्यापार । तर नेपालमा निर्माणको अन्तिम चरणतिर पुगेपछि हाइड्रो कम्पनीहरुले प्राथमिक निष्कासन गर्ने गरेका छन् । निर्माण नसकिदै आइपिओ जारी गर्दा केही समय विद्युत उत्पादनबाट हुने आम्दानी शून्य रहन्छ । यसले गर्दा कतिपय हाइड्रोको प्रतिफल केही समय शून्य नै रहन्छ । तर पनि नेपालमा नेटवर्थको तीन गुणासम्म ओपनिङ सेयर कारोबार हुने हुँदा आइपिओमा अत्यधिक आकर्षण छ र छोटो समयमै नाफा कमाउन लगानीकर्ताहरु विद्युत उत्पादन आम्दानी शून्य भए पनि लगानी गर्ने गर्दछन् ।
हाइड्रोपावर कम्पनीको आधारभूत विश्लेषणको मुख्य पाटो नै विद्युत व्यापारबाट हुने आम्दानी हो । तर नेपालको घरेलु बजारको एक्लो विद्युत खरिदकर्ता नेपाल विद्युत प्राधिकरणले हाइड्रोपावर कम्पनीसँग निश्चित दरमा विद्युत खरिद गर्ने सम्झौता गरिसकेको हुन्छ । यस हिसाबले कम्पनीले विद्युत बिक्रीबाट गर्ने आम्दानी धेरथोर पहिले नै प्रक्षेपित गरिसकिएको हुन्छ । उत्पादित विद्युत पनि विद्युत प्राधिकरणसँग 'टेक अर पे' मोडलमा पावर पर्चेज एग्रीमेन्ट गरेका हुँदा विद्युत उत्पादन भए आम्दानी लगभग सुनिश्चित नै रहन्छ ।
विद्युत उत्पादन शुरु गरिसकेका कम्पनीको आम्दानी असर पार्ने तत्वहरुमा प्राकृतिक प्रकोपको जोखिम, पानीको घट्दो बहाव, ट्रान्समिसन लाइनको समस्या लगायत रहेका छन् । यिनै समस्याका कारण विद्युत उत्पादनबाट हुने आम्दानीमा घटबढ हुनेगर्दछ । बर्खा यामका सिजन मुख्य गरेर प्रथम तथ चौथो त्रैमासमा हुने आम्दानी हिउँद र सुख्खा याममा हुने आम्दानी भन्दा ज्यादा देखिन्छ । यसरी आम्दानीमा हुने हेरफेरलाई मध्यनजर गर्दै लगानीकर्ताले लगानी गर्न सक्नेछन् ।
इपिएस : कम्पनीको प्रति सेयर आम्दानी फन्डामेन्टल एनालिसिसको मुख्य सूचक हो । हाइड्रोपावर कम्पनीहरुले विद्युत बिक्रीका अलावा वित्तीय आम्दानी तथा अन्य आम्दानी पनि गर्न सक्दछन् । उत्पादन शुरु नभएका हाइड्रोले आइपिओ जारी गरि उठाएको पैसाबाट ब्याज आम्दानीसमेत प्राप्त गर्न सक्छन् । सबै खर्च कटाएर सेयरधनीलाई बाँड्न मिल्ने गरि स्वस्थ इपिएस भएको कम्पनीमा लगानी गर्दा निरन्तर प्रतिफल पाउन सकिन्छ । विद्युत उत्पादन थालेका कम्पनीहरुको बैंकहरुले दिइरहेको ब्याजदर भन्दा बढी इपिएस भए त्यस्ता कम्पनीमा लगानी गर्नु उचित रहन्छ । तर भर्खर उत्पादन थालेका कम्पनीहरुको अचानक इपिएसमा उछाल देखिएपनि प्रोभिजनिङ गर्नु पर्ने हुँदा आकर्षक र उच्च इपिएसलाई मात्रै हेरेर लगानी गर्नु भने हुँदैन ।
रिटेन्ड अर्निङ : रिटेन्ड अर्निङ भन्नाले कुनै पनि कम्पनीले कमाएको नाफा लगानीकर्तालाई वितरण नगरी राखेको आम्दानी हो । हाइड्रोपावर कम्पनीमा विभिन्न समस्याहरु आउन सक्ने हुँदा कम्पनीहरुले शतप्रतिशत नाफा वितरण नगरेर केही हिस्सा कोष बनाएर राख्ने गर्दछन् । यस्तो कोषमा भएको रकम नियमित आम्दानी घटेको बेला लाभांशका रुपमा बाँड्न पनि सकिन्छ । अर्थात यसलाई सेयरधनीकै सम्पत्तिका रुपमा मान्न सकिन्छ । राम्रो रिटेन्ड अर्निङ रहेको कम्पनीमा लगानी गर्दा लगानीकर्ता नियमित प्रतिफल पाउने उच्च सम्भावना रहन्छ । त्यस विपरीत ऋणात्मक रिटेन्ड अर्निङ भएका कम्पनीहरुको इपिएस उच्च भएपनि केही समय नाफा वितरण नगरी बस्ने धेरै सम्भावना रहन्छ ।
नेटवर्थ : नेटवर्थ भनेको कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व छुट्टाएर बाकिँ रहेको हिस्सा हो । अर्थात सबै दायित्व चुक्ता गरेपछि लगानीकर्ताको भागमा पर्ने हिस्सा नै नेटवर्थ हो । प्रति सेयर नेटवर्थ जति धेरै हुन्छ कम्पनीको सेयर उति नै उत्कृष्ट मानिन्छ । कम्पनीले प्रारम्भिक लगानीकर्तासँग उठाएको इक्विटी लगानी तथा विगतमा अवितरित नाफा दुवै जोडेपछि कम्पनीको नेटवर्थ निकाल्न सकिन्छ । यसै नेटवर्थलाई कम्पनीको कुल सेयर संख्याले भाग गरि प्रति सेयर नेटवर्थ निकाल्न सकिन्छ । प्रति सेयर नेटवर्थ र बजारभाउको फरक न्यूनतम रहेका कम्पनीको सेयरमा लगानी गर्दा जोखिम निकै कम रहने गर्दछ ।
वित्तीय खर्च : हाइड्रोपावरहरुले आफ्नो विवरणपत्रमा ऋण तिर्दै जाने तालिका पनि प्रकाशित गर्ने गर्दछन् । यस्तो अमोर्टाइजेसन तालिका अनुसार कम्पनीहरुले अघिल्ला वर्षहरुमा धेरै ऋण तिर्दै बिस्तारै साँवा ब्याज दुवै घटाउँदै जाने गर्दछन् । वित्तीय विवरणमा हेरेर वित्तीय खर्चको फ्लो घट्दो छ वा बढ्दो छ भन्ने तुलनात्मक विश्लेषण गरेर पनि कम्पनीको आधारभूत विश्लेषण गर्न सकिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस