Like us!
Follow us!
Connect us!
Watch us!

के हिमालयन बैंकको सेयर खरिद गर्ने उपयुक्त अवसर हो ?

अर्थ संसार

बुधबार, ०१ चैत्र २०७९, १० : २५ मा प्रकाशित

के हिमालयन बैंकको सेयर खरिद गर्ने उपयुक्त अवसर हो ?

हिमालयन बैंकले सिभिल बैंकलाई १००:८०.२८ को रेसियोमा प्राप्ति गरिसकेपछि नेप्सेमा हिमालयन बैंक लिमिटेड (हबल) को सिम्बोलमा कारोबार सुरु भयो। यो हप्ताको सुरुवातदेखि नै हिमालयन बैंकको सेयरमूल्यमा गिरावट आईरहेको छ।  आईतबारका दिन एचबिएलको कारोबार रु. २६२ मा खुलेको थियो। मंगलबारका दिनसम्म आईपुग्दा एचबिएल २३२ रुपैयाँसम्म झरिसकेको छ। यो अवधिमा ११% भन्दा धेरैको गिरावट आईसकेको छ।  मूल्य घट्दै गर्दा कित्ता कारोबार समेत बढेको छ।  

हिमालयन बैंक नेपालका सबल बैंकहरुमध्येको एक हो। यो बैंकलाई चुस्त, दुरुस्त र बलियो बैंकको रुपमा लिईने गरिन्छ। सिभिल बैंकले पनि पछिल्लो समय राम्रै बिजनेस गरिरहेको थियो। कसैले राम्रो प्रगति गरिरहेको बैंकको उदाहरण दिनुपरे सिभिल बैंकको नाम लिनेसम्म भईसकेको थियो। दुईवटा सबल संस्थाहरु एक आपसमा जोडिदा त्यसले सिनर्जी इफेक्ट ल्याउँछ, त्यसैले मर्जर र प्राप्तिमा १+१ बराबर २ होईन ३ हुन्छ भन्ने गरिन्छ। तर कारोबारमा आएदेखि नै एचबिएलको सेयरमूल्य बढ्नुमा सिभिलका सेयरधनीहरुको सप्लाई नै हो भन्छन बजार जानकारहरु।  

बैंककाे परिचय

हिमालयन बैंक लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा वाणिज्य बैंक समूह अन्तर्गत सूचिकृत भएको एक पब्लिक कम्पनी हो । यो बैंक  सन् १९९३ मा पाकिस्तानको हविब बैंक लिमिटेडको संयुक्त लगानीमा स्थापना भएको हो । नेपालको बैंकिङ्ग क्षेत्रमा कडा प्रतिस्पर्धा भएता पनि हिमालयन बैंकले बैंकिङ्ग क्रियाकलापमा (निक्षेप तथा कर्जामा) अग्रणी स्थान कायम राख्न सकेको छ । हिमालयन बैंकको विरासत आफ्ना ग्राहकवर्गहरुलाई बैंकिङ्ग सेवामा नवीनता प्रदान गर्ने एक संस्थाको रुपमा नेपाल भर परिचित रहेको छ । हिमालयन बैंक नेपालको बैंकिङ्ग क्षेत्रमा एटिएम सेवा र टेलिबैंकिङ्ग सेवा लगायतका अन्य बैंकिङ्ग सेवाहरु जस्तै प्रिमियम सेभिङ्ग खाता, एच बि एल प्रोपाईटरी कार्ड तथा बनौ लखपति योजना सुरुवात गर्ने पहिलो बैंकको रुपमा स्थापित भएको छ । नेपालका अन्य वित्तीय संस्थाहरुले हिमालयन बैंकले पदचाप पछ्याई समान प्रकारका बैंकिङ्ग सेवाहरु सुरुवात गरी संचालनमा ल्याएका छन् । निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम निक्षेप तथा कर्जा भएको यस बैंकले स्थानीय बैंकहरुको कर्जालाई सुरक्षण प्रदान गर्न अन्तराष्ट्रिय सम्पर्क बैंकलाई आफ्नो कर्जा नीति अनुसार बैंक जमानत प्रदान गर्ने भएकोले पनि बैंकिङ्ग क्षेत्रमा अग्रणी रही नेतृत्व प्रदान गर्न सक्ने क्षमता भएको विश्वास लिएको छ । बैंकको मुख्य उद्देश्य ग्राहकको रोजाईको पहिलो बैंक बन्ने रहेको छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर यही फागुन १२ गते शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेको हो ।  हिमालयन बैंकले सिभिल बैंकलाई १००:८०.२८ अनुपातमा प्राप्ति गरेको हो । 

बैंककाे वित्तीय अवस्था

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन बैंकको खुद नाफा २८.४२ प्रतिशतले बढेर ९५ करोड ४७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले ७४ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ९०.३९ प्रतिशत र ३०.८० प्रतिशतले बढेको छ । दोस्रो त्रैमाससम्म बैंकको चुक्ता पुँजी १४ अर्ब ६२ लाख रुपैयाँ रहेको छ । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् भने हाल  हिमालयन बैंकको पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । दोस्रो त्रैमाससम्म बैंकको रिजर्भ कोषमा भने ७ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा ८ करोड ७२ लाख रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ १६ पैसाले बढेर १३ रुपैयाँ ६३ पैसा र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ६२ पैसा पुगेको छ । 

सेयर बजारमा हिमालयन बैंककाे स्थान

सेयर बजारमा हिमालयन बैंक लिमिटेडलाई नियाल्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंकको २१ करोड ६५ लाख ६६ हजार एक सय ५८ कित्ता सेयर सूचिकृत छ । हाल (फागुन ३० गते, मंगलबारका अनुसार) नेप्सेमा यस बैंकको सेयरमूल्य २ सय ३२ रूपैयाँ २० पैसा रहेकाे छ । बैंकको सेयर एक वर्षयता अधिकतम ५ सय ५ रूपैयाँ र न्युनतम २ सय ३० रूपैयाँ ६० पैसामा कारोबार भएको छ । 

कम्पनीको पछिल्लो १२० दिनको औषत मूल्य ३ सय १५ रूपैयाँ ६१ पैसा रहेको छ । कम्पनीको मूल्यलाई एकैछिन नियालौं । कम्पनीको औषत मूल्यलाई आधार मानेर हेर्दा कम्पनीको सेयर मूल्य निकै घटेको छ । कम्पनीको सर्वाधिक मूल्य हेर्ने हाे भने पनि अहिले यसकाे मूल्य निकै घटेकाे छ । कम्पनीकाे एक वर्षकाे सर्वाधिक मूल्य ५ सय ५ रूपैयाँ रहेकोमा अहिले यसको मूल्य २ सय ३२ रूपैयाँ २० पैसा रहेकाे छ ।

बैंककाे १२ वर्षको लाभांश इतिहास यस प्रकारकाे छ :

हिमालयन बैंकको लाभांश इतिहास हेर्दा बैंकले निरन्तर रुपमा लाभांश प्रदान गरेको देखिन्छ ।  बैंककाे सेयरमा १२ वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताको पुँजी बैंकले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेको बोनसबाट अहिले बढेर अहिले झन्डै ३ लाख रूपैयाँ पुगेको छ । बोनसबाट मात्र नभएर नगद लाभांशबाट पनि हिमालयन बैंकका लगानीकर्ताहरुले राम्रै आम्दानी गरिसकेका छन् ।

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १६.८४२१ प्रतिशत नगद गरि कूल ३६.८४२१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र १३.४२११ प्रतिशत नगद गरि कूल २८.४२११ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र ६.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३५ प्रतिशत बाेनस र ७.१ प्रतिशत नगद गरि कूल ४२.१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १.५७ प्रतिशत नगद गरि कूल ३१.५७ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र १.३१५८ प्रतिशत नगद गरि कूल २६.३१५८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस र १०.७८ प्रतिशत नगद गरि कूल १५.७८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र २२ प्रतिशत नगद गरि कूल २२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १४ प्रतिशत बाेनस र ६ प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे छ ।

११. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७७/७८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २१.३८ प्रतिशत बोनस र ४.६२ प्रतिशत नगद गरि कूल २६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१२. आर्थिक वर्ष २०७८/७९ : आर्थिक वर्ष २०७८/७९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बोनस र ११.११ प्रतिशत नगद गरि कूल १९.११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंककाे व्यवस्थापन 

कम्पनीकाे हरेक अवस्थाहरूमा व्यवस्थापन पक्षकाे ठूलाे भुमिका हुने गर्दछ । कम्पनीकाे नाफा/घाटा, राम्राे/नराम्राे यस्ता सबै कुराहरू व्यवस्थापन पक्षसँग जाेडेर हेरिने भएकाले आफूले लगानी गर्ने कम्पनीकाे व्यवस्थापनकाे बारेमा पनि जान्नु जरूरी हुन्छ । 

बैंककाे अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ रहेका छन् । बैंककाे प्रमुख कार्यकारी अधिकृतमा अशोक शमशेर जबरा रहेका छन् । त्यसैगरी, बैंककाे सञ्चालकहरूमा क्रमश: विजय बहादुर श्रेष्ठ, फैसल एन लनानी, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा र स्वतन्त्र सञ्चालकमा राधा कृष्ण पोटे रहेका छन् ।

बैंककाे प्राविधिक विश्लेषण

प्राविधिक रुपमा हेर्दा हिमालयन बैंकले यसअघिको लो रु. २६८ लाई ब्रेक गरिसकेको छ। डेली चार्टमा आरएसआइ १८ को लेभलमा आईसकेको देखिन्छ जुन ओभरसोल्ड जोन हो। यसले अब यसका बिक्रिकर्ताहरु धेरै छैनन्, कम्पनीको सेयरमूल्य बढ्न सक्छ भन्ने संकेत गर्दछ। बोलिंगर ब्याण्डको लोवर ब्याण्ड मोडिफ़ाइ हुँदै लोवर ब्याण्ड संगै क्यान्डलहरु बनिरहेको छ जसले मूल्य थप घट्नसक्ने संकेत गर्दछ। हिमालयन बैंक जस्तो बलियो ब्रान्ड बोकेको कम्पनीको सेयर २३० को लेभलमा आऊँदै गर्दा बिक्रि भन्दा पनि खरिदका लागि आवसर हेर्नु नै उपयुक्त हुने देखिन्छ ।  

बैंकमा लगानी कति सुरक्षित ?

समग्रमा हिमालयन बैंक लिमिटेडलाई हेर्दा औषतमा बैंकले सेयरधीहरूलाई राम्राे प्रतिफल दिएकाे हुनाले लगानीकर्ताहरूले याे कम्पनीलाई रूचाएका छन् ।  बैंककाे प्रमुख वित्तीय सूचकहरू पनि आकर्षक छन् । कम्पनीकाे सेयरमूल्य पनि यतिबेला निकै तल्लाे विन्दुमा झरिसकेकाे छ । कम्पनीकाे पीई रेसियाे पनि १७.६१  गुणा रहेकाे छ । २० भन्दा कम पीई भएका कम्पनीहरू लगानीका लागि सुरक्षित मानिन्छ । 

हामीले लगानी गर्दा एउटा पक्षकाे आधारमा मात्र गर्न हुँदैन । लगानी गर्दा कम्पनीका विभिन्न पक्षहरूलाई राम्ररी केलाएर मात्र लगानी गर्नुपर्दछ । हिमालयन बैंक लिमिटेडकाे विभिन्न पक्ष केलाउँदा कम्पनीमा गरिने लगानी दीर्घकालिन रूपमा सुरक्षित देखिन्छ । 

नोटः हामीले कम्पनीको समग्र अवस्था हेरेर विश्लेषण गर्ने हो यो कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्त रुपमा लगानीकर्ताहरुको स्वविवेकमा निर्भर रहन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको