Like us!
Follow us!
Connect us!
Watch us!

नेटवर्थको तीन गुणासम्म आइपिओको ओपनिङ रेञ्ज हुने आधार के ?

अर्थ संसार

विहीबार, १४ मंसिर २०८०, ०८ : ०७ मा प्रकाशित

नेटवर्थको तीन गुणासम्म आइपिओको ओपनिङ रेञ्ज हुने आधार के ?

सर्वसाधारणलाई आइपिओ जारी गरेर बाँडफाड सम्पन्न भएर हाल कायम रहेको कारोबार गर्ने एक मात्र प्लेटफर्म नेप्से मार्फत दोस्रो बजारमा कारोबार हुनु अघि हरेक कम्पनीको स्टकलाई ओपनिङ रेञ्ज दिने गरिएको छ।

आइपिओलाई नेटवर्थको एकदेखि तीन गुणासम्म हुनेगरी ओपनिङ रेञ्ज तोक्ने गरेको छ । जस्तै कुनै आइपिओको नेटवर्थ उसको अन्तिम अडिटेड विवरणअनुसार ८० रुपैयाँ छ भने दोस्रो बजारमा उक्त कम्पनीको पहिलो कारोबार ८० देखि दुई सय ४० रुपैयाँ सम्मको रेञ्जमा खुल्न सक्छ । यसै रेञ्जका कारण आइपिओमा नेपालमा अत्यधिक आकर्षण बढेको थियो ।

कुनै पनि कम्पनीको आइपिओ निष्कासनदेखि बाँडफाँड गरि नेप्सेमा सुचीकरण भएर कारोबार शुरु हुन करिब एकदेखि दुई महिनासम्मको समय लाग्ने गरेको छ । यसरी सानो अवधिमै दुई सय प्रतिशतसम्म नाफा हुने भएपछि आइपिओमा लगानीकर्ताको विशेष आकर्षण हुने गरेको छ भने कम्पनीका संस्थापकहरु पनि उच्च मूल्यमा आफ्नो सेयरको कारोबार हुने देखेपछि प्राथमिक निष्कासनमा लालायित हुने गरेको देखिएको छ ।

यसै लोभमा अत्यधिक कम्पनीले आइपिओ निष्कासन गरेपछि दोस्रो बजारमा भने सेयरको बाढी नै लागेको छ । त्यसमाथि तीन गुणा बढी मूल्यमा कारोबार सुरु हुँदा ठूलो पुँजी अनुत्पादक शैलीमा सेयरबजारमा हराउने गरेको देखिन्छ । अझ हरेक आइपिओमा पाँच प्रतिशतको हक पाएका म्युचुअल फन्डले आइपिओलाई नै आफ्नो आम्दानीको उल्लेख्य हिस्सा मान्न थालेका छन् ।

दीगो लगानीका रुपमा हेरिने आइपिओमार्फत नै छोटो समयमा लाभ लिन पाइने भएपछि सर्वसाधारणले भएभरको सेयर एकैपटक बेच्न खोज्दा आजभोलि आइपिओ नै धमाधम नकारात्मक सर्किट लेभलमा कारोबार हुन थालेको छ । नियामकले यहिँ कारणले पनि सामूहिक लगानी कोषलाई ६ महिने क्याप लगाईदियो। 

यसरी हेर्दा धितोपत्र बोर्डको तीन गुणे नीतिमै अब सुधार गर्नुपर्ने बेला भएको बुझ्न सकिन्छ । आइपिओमार्फत आमनेपालीलाई लगानीको अवसर दिने बताइए पनि पछिल्लो समय लगानी भन्दा आइपिओको ट्रेडिङ धन्दा बनेको छ । उसो त बजारले अनन्त हरेक स्क्रीप्टको मुल्यलाई माग र पुर्तिका आधारमा सही स्थानमै समायोजन गराउने भए पनि एक महिनामै कुनै कम्पनीको सेयरभाउ धेरै उफ्रिनु पक्कै पनि साना लगानीकर्ताको हितमा हुदैंन।

त्यसैले अब आइपिओ लिस्टिङका बेलानै बजारको माग र सप्लाईको अवस्थालाई हेरेर बजारले नै मूल्य निर्धारण गर्ने प्रणालीलाई अवलम्बन गर्न अत्यावश्यक भइसकेको छ । छिमेकी मुलुक भारतमा आइपिओ जारी गरेको मूल्यको २० प्रतिशत माथि आइपिओ लिस्टिङ भए मात्रै पनि त्यसलाई निकै प्रभावशाली ओपनिङ मानिन्छ । भारतमा आइपिओ जारी गरेका बिक्री प्रबन्धकहरुले नै आइपिओको लिस्टिङ मूल्य तोक्ने गरेका छन् । ती कम्पनीहरुले लिस्टिङ प्राइस बजारको सेन्टिमेन्ट तथा पछिल्लो ट्रेन्ड हेरी तोक्ने गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको