Like us!
Follow us!
Connect us!
Watch us!

चौथो संस्करणको "हिमालयन हाइड्रो एक्स्पो" वैशाखको दोस्रो साता आयोजना हुँदै

अर्थ संसार

बुधबार, २४ माघ २०८०, १६ : ४२ मा प्रकाशित

चौथो संस्करणको "हिमालयन हाइड्रो एक्स्पो" वैशाखको दोस्रो साता आयोजना हुँदै

निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको साझा संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा आगामी वैशाख १२, १३ र १४ गते अर्थात अप्रिल २४, २५ र २६ मा "हिमालयन हाइड्रो एक्स्पो २०२४' आयोजना हुने भएको छ । 

"समृद्धिका लागि हरित ऊर्जा" भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पो सन् २०१७, २०१० र सन् २०२२ पछिको चौथौ संस्करणको रहेको छ । देशमा हाल २९ सय १ मेगावाट जडित क्षमता रहेकोमा निजी क्षेत्रबाट मात्र सोलारसहित ११ आयोजना सम्पन्न भई २२ सय १४ मेगावाट उर्जा उत्पादन भैसकेको छ । यसैगरी ३ सय ९७ मेगावाट बराबरका १३१ आयोजना निर्माणाधीन अवस्थामा छन् भने २६ सय १५ मेगावाट बराबरका १३८ आयोजना विद्युत खरिद सम्झौता (पीपीए) भएर वित्तिय व्यवस्थापनको चरणमा छन् । यसैगरी करिब १९ हजार ६२३ मेगावाट बराबरका २५८ आयोजना निजी क्षेत्रबाट अनुमतिपत्र लिएर निर्माणको विभिन्न चरणमा छन् ।

१० बर्षमा १० हजार मेगावाट विद्युत भारतमा दीर्घकालीन रुपमा निर्यात गर्ने सम्झौता भैसकेको तथा आगामी सन् २०३५ भित्र १५ हजार मेगावाट विद्युत निर्यात गर्ने उद्देश्यसहितको २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने मार्गचित्र ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले निर्माण गरिसकेको सन्र्दभममा यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने अपेक्षा आयोजकको छ । ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकोले यसलाई मूर्त रुप दिने गरी निजी क्षेत्रबाट एक्स्पो आयोजना गर्न लागिएको हो ।

नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानले अपेक्षा गरेको छ । ऊर्जा उत्पादनको लक्ष्य कार्यान्वयनमा समेत महत्वपूर्ण योगदान दिने गरी आयोजना गर्न लागेको एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय र कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कुटनीतिज्ञ नियोगहरु, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसाय कम्पनी, बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनीधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एकै थलोमा उपस्थिती गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरुकोवारे नीतिगत बहसका साथै नयाँ नयाँ प्रविधि र उपकरणहरुको प्रदर्शनी गर्ने आयोजकको तयारी रहेको छ ।

यसैगरी एक्स्पोमा दिगो, समावेशी, हरित पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ । आयोजकका अनुसार चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुलोरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरु एक्स्पोमा सहभागी हुनेछन् ।

जलविद्युतका लगानीकर्ता, उत्पादक, इन्जिनियर लगायत यस क्षेत्रमा चासो राख्ने सबैका लागि जानकारीको केन्द्र बन्ने एक्स्पोमा ३ दिनको अवधिमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक तथा वित्तीय संस्था, सिमेण्ट, डण्डी लगायतका २०० भन्दा बढी स्टल रहने छन् जसमध्ये झण्डै ५० प्रतिशत विदेशी स्टल हुने जनाइएको छ ।

हाइड्रोपावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवाको प्रतिस्पर्धा एक्स्पोको अर्को आकर्षण बन्ने आयोजकले अपेक्षा गरेको छ । आयोजकका अनुसात एक्स्पोमा सहभागिताको लागि आज बुधबारदेखि नै स्टल बुकिङ खुला गरिएको छ । स्टल बुकिङका सम्बन्धमा थप जानकारी लिन इप्पान सचिवालय र इभेन्ट एण्ड एक्स्पो म्यानेजमेन्ट सर्भिसमा सम्पर्क गर्नसकिने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको