असोज ३१ गते चार फरक कम्पनीहरूले आफ्नो वार्षिक साधारणसभा एकैदिन आयोजना गर्दै छन्। यी सभाहरूमा लाभांश वितरणदेखि हकप्रद सेयर जारी गर्ने र मर्जर सम्भावनासम्मका विविध प्रस्तावहरू छलफल हुने भएका छन्।
नेपाल ल्यूब आयल कम्पनी लिमिटेड
कम्पनीको साधारणसभा आज बिहान साढे ११ बजे पुल्चोकस्थित द प्लाजामा सुरु हुँदैछ। कम्पनीले सेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर र १.०५२६४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्दैछ। यसका लागि कम्पनीले बुक क्लोज मिति असोज १२ गते तोकेको थियो।
मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड
१८औं वार्षिक साधारणसभा आज बिहान ११ बजे थापागाउँ व्याङ्क्वेट, नयाँबानेश्वरमा बस्दैछ। सभामा करसहित १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव मुख्य एजेन्डा रहेको छ। साथै, कम्पनीले मर्जर वा वैदेशिक रणनीतिक साझेदारीका सम्भावनाबारे छलफल गर्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछ। यसको बुक क्लोज मिति असोज २२ गते निर्धारण गरिएको थियो।
ओरियण्टल होटल्स लिमिटेड
२८औं साधारणसभा आज जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजे आयोजना हुँदैछ। कम्पनीले यसपालि लाभांश प्रस्ताव नगरी १ बराबर ०.२६६३ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव ल्याएको छ। बुक क्लोज मिति असोज २ गते तय गरिएको थियो।
स्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड
९औं साधारणसभा आज बिहान ११ बजे सुकेधारास्थित सेलिब्रेसन हाइट्समा सुरु हुनेछ। कम्पनीले यसपालि लाभांश प्रस्ताव नगरी चार सञ्चालकको निर्वाचन र एक स्वतन्त्र सञ्चालक नियुक्तिको प्रस्ताव प्रस्तुत गर्नेछ। बुक क्लोज मिति असोज २४ गते तोकिएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस