Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ क्षेत्रप्रति दुष्प्रचार भएको भन्दै राष्ट्र बैंकले निकाल्यो विज्ञप्ति, सबै बैंकका परिसूचक निर्देशन बमोजिम रहेको स्पष्टोक्ति

अर्थ संसार

मंगलबार, ०८ फागुन २०८०, १६ : ३१ मा प्रकाशित

बैंकिङ क्षेत्रप्रति दुष्प्रचार भएको भन्दै राष्ट्र बैंकले निकाल्यो विज्ञप्ति, सबै बैंकका परिसूचक निर्देशन बमोजिम रहेको स्पष्टोक्ति

नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रप्रति दुष्प्रचार भएको भन्दै प्रेस विज्ञप्तिमार्फत सञ्चालनमा रहेका सबै बैंक तथा वित्तीय संस्थाका परिसूचकहरु राष्ट्रबैंकको निर्देशन बमोजिम रहेको स्पष्ट पारेको छ ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा केही व्यक्ति तथा समूहले भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै बैंकिङ जस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलाग्न बैंकले अनुरोध गरेको छ ।

बैंकिङ क्षेत्र अर्थव्यवस्थाको मेरुदण्ड भएको बताउँदै राष्ट्र बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरू समेतका आधारमा यस बैंकले दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा यस बैंकबाट नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण हुने जनाएको छ । बैंकले विज्ञप्तिमा लेखेको छ, "पछिल्लो समयमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू यस बैंकको निर्देशनअनुरूप नै रहेको छ । कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा यस बैंकले समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको छ ।"

बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण / सुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको पनि बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको पनि बैंकले स्पष्ट पारेको छ ।

राष्ट्र बैंकले अनावश्यक दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न अनुरोध गरेको छ ।

65d4d06de3ad5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको