Like us!
Follow us!
Connect us!
Watch us!

६ महिनामा विद्युत प्राधिकरणले कमायो १५ अर्ब ३६ करोड

अर्थ संसार

विहीबार, १७ फागुन २०८०, ०७ : ४३ मा प्रकाशित

६ महिनामा विद्युत प्राधिकरणले कमायो १५ अर्ब ३६ करोड

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा गरेको छ । प्राधिकरणकोे  चालु आर्थिक वर्षको पहिलो छ महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको देखाएको छ  ।

विद्युत् खरिद, प्रशासनिक, आयोजनाहरुलगायतमा जम्मा ५१ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमश : विद्युत बिक्री र खरिद तथा आयोजनाहरुमा हुने गरेको छ । प्राधिकरणले समीक्षा अवधिमा १५ अर्ब ३६ करोड ६ लाख रुपैयाँ नाफा (करकट्टी गर्नुअघि) आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७९/८० को सोही अवाधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ रहेको थियो । गत आवको पहिलो ६ महिनाको तुलनामा प्राधिकरणको नाफा चालु आवको सोही अवधिमा ४ अर्ब ४४ करोड ४६ लाख रुपैयाँले बढी हो ।

गत आवको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ थियो । आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत निर्यात बढ्दा आम्दानीमा भएको बृद्धि, खर्च नियन्त्रणलगायतले चालु आवको पहिलो ६ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए ।

कार्यकारी निर्देशक घिसिङले भने,‘बजेट सिमीतताका कारण सरकारबाट लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेका छैनौं, यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनाहरुमा हरेक वर्ष अरबौं रुपैयाँ लगानी गरिरहेका छौं । विद्युत्मा आत्मनिर्भर बन्न, आन्तरिक रुपमा खपत बढाउन र उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् उपलब्ध गराउन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुमा आगामी वर्षहरुमा १०÷१२ खर्ब रुपैयाँभन्दा बढीको लगानी आवश्यक पर्छ, नगद प्रवाहका लागि संस्थाको नाफाले मात्र पुग्दैन ।’

प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकहरुबाट र भारतबाट आयात गरी ३० अर्ब ४८ करोड ५८ लाख रुपैयाँको विद्युत् खरिद गरिएको छ । प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीहरुवाट २८ अर्ब ४९ करोड ९६ लाख र भारतबाट १ अर्व ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको हो । समीक्षा अवधिमा नेपाल सरकारमार्फत विनियोजन गरिएको वैदेशिकतर्फ ९ अर्ब ०३ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ ।

नाफा/नोक्सानको अवस्था

आर्थिक बर्ष        नाफा(रुपैयाँ)    घाटा(रुपैयाँ)
२०७२/७३         ८ अर्ब ८९ करोड
२०७३/७४       १ अर्ब ५० करोड     
२०७४/७५      ३ अर्ब ४४ करोड     
२०७५/७६      ९ अर्ब ८१ करोड     
२०७६/७७     ११ अर्ब ७५ करोड     
२०७७/७८    ६ अर्ब ९करोड    
२०७८/७९    १३ अर्ब ३७ करोड    
२०७९/८०    १२  अर्ब ३३ करोड    
२०८०/८१   (६ महिना)  १५ अर्ब ३६ करोड     

स्रोत : नेपाल विद्युत प्राधिकरण ।

१३ अर्बको विद्युत निर्यात, २ अर्बको आयात
नेपाल विद्युत प्राधिकरणको चालु आवको पहिलो ६ महिनामा १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको विद्युत भारतर्फ निर्यात गरेको छ । सोही अवधिमा १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएन (NTPC Vidyut Vyapar Nigam Ltd-NVVN)लाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

समीक्षा अवधिमा १ अर्ब ४७ करोड ६४ लाख युनिट विद्युत निर्यात गरिएको छ । सुख्खायाम सुरुभएसँगै नदी तथा खोलानालामा पानीको बहाव घटेर जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादन घटेपछि अहिले देशभित्रको आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात भइरहेको छ । समीक्षा अवधिमा २२ करोड ५ लाख युनिट विद्युत् आयात गरिएको छ । वर्षायाम सुरुभएसँग फेरि विद्युत् निर्यात सुरु हुने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको