Like us!
Follow us!
Connect us!
Watch us!

सत्तारुढ दलको साझा संकल्प: सेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने

अर्थ संसार

मंगलबार, ०६ चैत्र २०८०, २० : ३३ मा प्रकाशित

सत्तारुढ दलको साझा संकल्प: सेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने

सत्तारुढ पाँच राजनीतिक दलले साझा संकल्पमा पुंजी बजारले पनि महत्त्वपूर्ण ठाउँ पाएको छ। हालको गठबन्धन दलहरुको तर्फबाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले संकल्प प्रस्तुत गरेको प्रस्तावमा सेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने भनिएको छ। 

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको साझा संकल्प प्रस्तुत  कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।  

प्रस्तावमा आर्थिक शिथिलता अन्त्य गर्ने भनिएको छ। 

अर्थतन्त्रमा उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीव्रता दिने संकल्पमा उल्लेख छ। 

सुस्त कर्जा प्रवाह र पुँजीगत सार्वजनिक खर्चको न्यूनताजस्ता समस्याको समाधान गर्ने, वित्तीय र मौद्रिक नीतिबीच समन्वय गर्दै, तात्कालिक र मध्यकालीन लगानी र रोजगार - मैत्री नीतिगत सुधारमा बाधा पुऱ्याउने बिभिन्न कानुनहरु संशोधन गर्ने,
सार्वजनिक वित्तको दिगो व्यवस्थापनमा चुनौतीको रूपमा रहेको राजश्व र खर्चबीच बढिरहेको अन्तरलाई कम गर्न राजश्व सुधार, सरकारी खर्चमा मितव्ययिता, वैदेशिक सहयोगका नवीन स्रोतहरूको पहिचान र परिचालन गर्ने, विप्रेषण आप्रवाहलाई उत्पादनशील गतिविधिमा लगाउने र सेयर बजारलाई नीतिगत सुधारमार्फत् चलायमान बनाउने भनिएको छ। 

तेस्तै ,सहुलियतमा रहेको हरित वित्त, अन्तर्राष्ट्रिय बजारमा पहुँच र प्रविधि हस्तान्तरणलाई केन्द्रविन्दूमा राखी अतिकम विकसित राष्ट्रको दर्जाबाट स्तरोन्नति भएपछिको संक्रमणकालिन रणनीति कार्यान्वयन गर्ने, पन्ध्रौं योजनाको कार्यान्वयन अवस्थाको वस्तुनिष्ठ समीक्षासहित सोह्रौं राष्ट्रिय योजना प्रारम्भ गर्ने उल्लेख छ । यस आवधिक योजना आरम्भ गर्दा डिजिटलाइजेसन, पर्यटन, कृषि, ऊर्जा र हरित औद्योगिकीकरणलाई रोजगारमूलक आर्थिक वृद्धि एवं संरचनात्मक रूपान्तरणका नयाँ आधारका रूपमा परिभाषित गर्दै सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गरी 'सम्मानजनक मध्यम आय भएको अर्थतन्त्र' निर्माण गर्ने प्रस्तुत प्रस्तावमा छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको