Like us!
Follow us!
Connect us!
Watch us!

चितवनमा समस्याग्रस्त सहकारीका कर्मचारीद्वारा आत्महत्या

अर्थ संसार

शनिबार, २९ बैशाख २०८१, १९ : २१ मा प्रकाशित

चितवनमा समस्याग्रस्त सहकारीका कर्मचारीद्वारा आत्महत्या

चितवनमा समस्याग्रस्त सहकारीका एक कर्मचारीले आत्महत्या गरेका छन् ।

चितवनको भरतपुर-३ मा रहेको सनराइज सहकारीका कर्मचारी रहेका २४ वर्षीय निर्मल कुमार महतोले बिहीबार आत्महत्या गरेका हुन् । भरतपुर-१४ बरौजी घर भएका महतो कार्यारत सनराइज सहकारी २०७९ कार्तिकदेखि नै बन्द रहेको थियो । आफ्नै कोठामा मृत फेला परेका महतोको कोठाबाट सुसाइड नोट भने फेला नपरेको प्रहरीले जनाएको छ । आत्महत्याको कारण बारे अनुसन्धान गर्न उनको मोबाइलको प्राविधिक विश्लेषण गर्न लगिएको पनि प्रहरीको भनाई छ ।

लामो समयदेखि सहकारी बन्द रहे पनि पछिल्लो समय अनुसन्धानका लागि सहकारीका अध्यक्ष र सचिव पक्राउ परेका थिए । गत माघमै पक्राउ पुर्जी जारी भए पनि फरार रहेका सहकारी अध्यक्ष नगेन्द्र बहादुर रिमाल र सचिव योगेन्द्र पाण्डे चैतमा पक्राउ परेका थिए । नवलपुरको छिपछिपे सहकारी प्रकरणमा पक्राउ परेका उनीहरुलाई छानबिनका लागि चितवन ल्याउने तयारी रहेको छ ।

सनराइज सहकारीको व्यवसायमा बिस्तारमा राम्रो योगदान दिएका मृतक महतोलाई सहकारीका बचतकर्ताबाट सोधखोज भइरहने परिवार स्रोतले जनाएको छ । सहकारीका मुख्य जिम्मेवार व्यक्तिहरु फरार रहँदा बचतकर्ताहरु भेट्न घरमै आउन थालेपछि महतो तनावमा रहने गरेको पनि परिवारको भनाई छ ।

सनराइज सहकारीमा एक सय भन्दा बढी बचतकर्ताले रकम फिर्ता नपाएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । उक्त सहकारीमा कति रकम अपचलन भयो भन्ने बारे भने अनुसन्धान जारी नै रहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको