Like us!
Follow us!
Connect us!
Watch us!

शर्मा किर्गिजस्तानको अवैतनिक वाणिज्यदूत नियुक्त, सीतापाइलामा खुल्यो कार्यालय

अर्थ संसार

विहीबार, ०३ जेठ २०८१, १६ : ३२ मा प्रकाशित

शर्मा किर्गिजस्तानको अवैतनिक वाणिज्यदूत नियुक्त, सीतापाइलामा खुल्यो कार्यालय

काठमाडौंको सीतापाइलामा किर्गिजस्तानको अवैतनिक वाणिज्य दूतको कार्यालय खुलेको छ । नेपालका लागि किर्गिजस्तानका गैरआवासीय राजदूत अस्कर बेसिमोभले बुधबार उक्त कार्यालयको उद्घाटन तथा कार्यालय परिसरमा किर्गिज गणतन्त्रको झण्डत्तोलन गरे ।

किर्गिज सरकारले प्रतिष्ठित निर्माण व्यवसायी रमेश शर्मालाई नेपालका लागि अवैतनिक वाणिज्य दूत नियुक्त गरेपछि वाणिज्य दूतको कार्यालय खुलेको हो । बुधबार साँझ किर्गिजस्तानको अवैतनिक वाणिज्य दूतको कार्यालयले काठमाडौंमा एक रिसेप्सन कार्यक्रम समेत आयोजना गरेको थियो ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रमुख अतिथिको रुपमा सहभागी भएको उक्त कार्यक्रममा शहरी विकासमन्त्री धनबहादुर बूढा, विभिन्न कूटनीतिक नियोगकमा अधिकारी, अन्य मुलुकका वाणिज्य दूत, परराष्ट्र मन्त्रालयका पूर्व एवं बहालवाला अधिकारी लगायतको उपस्थिति थियो । 

नेपालका लागि किर्गिज गणतन्त्रका गैरआवासीय राजदूत बेसिमोभले दुई मुलुकबीचको सुमधुर सम्बन्ध तथा आर्थिक र जनस्तरीय सम्बन्धलाई अझ प्रगाढ बनाउने सन्दर्भमा यो महत्वपूर्ण कदम भएको बताए । 

नवनियुक्त अवैतनिक वाणिज्य दूत रमेश शर्माले आफूलाई विश्वास गरेकोमा किर्गिज सरकारलाई र उक्त नियुक्तिलाई अनुमोदन गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरे । 

किर्गिजस्तान पनि नेपाल जस्तै भूपरिवेष्ठित मुलुक हो । यसको पूर्वमा चीन उत्तरमा कजाखस्तान, दक्षिणपश्चिममा ताजिकिस्तान र पश्चिममा उज्बेकिस्तान छ । सोभियत संघको पतनसँगै सन् १९९१ मा किर्गिजस्तान स्वतन्त्र भएको थियो । नेपाल र किर्गिज गणतन्त्रबीच सन् १९९३ मा दौत्य सम्बन्ध स्थापना भएको हो । 

किर्गिजस्तान जलविद्युत्, सुन, रियर अर्थ धातु, कोइला, तेल, प्राकृतिक ग्यास लगायत प्राकृतिक स्रोतमा सम्पन्न मुलुक हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको