Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर: बजेटपछि ओरालो यात्रामा नेप्से

अर्थ संसार

विहीबार, १७ जेठ २०८१, २२ : ४६ मा प्रकाशित

साताको सेयर: बजेटपछि ओरालो यात्रामा नेप्से

अघिल्लो साता निरन्तर उकालो चढिरहेको बजार यो साता भने कारोबारको पहिलो दिनदेखि नै ओरालो लाग्न थालेको छ । 

अर्थतन्त्रको ऐनाको रुपमा हेरिँदै आएको धितोपत्र दोस्रो बजार सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट वक्तव्यपछि निरन्तर घटेको हो । यस वर्षको बजेटमा सरकारले नयाँ कुनै नीतिलाई समावेश नगर्दा लगानीकर्ता केही निरास बनेको देखिन्छ । 

बजेटपछिको दोस्रो कारोबार दिन बजार परिसूचक नेप्से घटेको हो । मौद्रिक समीक्षाले उत्साह ल्याएको बजारमा बजेटले बल दिन नसक्दा फेरि २१ सय माथिबाट २ हजार विन्दुमा आइपुगेको छ। 

गत साता २०१८.७६ को बिन्दुबाट कारोबार सुरु गरेको बजारले कारोबारको अन्तिम दिनसम्म आइपुग्दा २१३१.४९ को बिन्दुमा पुगेर बन्द भएको थियो । गत साता समग्रमा बजार ११२.७२ को अन्तरले बढेको थियो ।

त्यसैगरी, कारोबार समीक्षा अवधिभर बजारले २१ अर्ब ९९ करोड ९२ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार गरेको थियो । माइक्रो फाइनान्स कम्पनीहरूमा लगानीकर्ताले रुचि देखाएका थिए भने सर्वाधिक कम कारोबार हुने क्षेत्रमा कर्पोरेट डिभेन्चर रहेको थियो ।

यो साता २१३१.४९ को बिन्दुबाट कारोबार सुरु गरेको बजार २०६९.५३ को बिन्दुमा पुगेर बन्द भएको छ । यसर्थ, यो साता बजार ६१.५३ अंकले घटेको छ ।

निर्माण कम्पनीहरूमा लगानीकर्ता झुम्मिँदा सबैभन्दा धेरै बीमा र निर्जीवन कम्पनीका लगानीकर्ताहरूले गुमाएका छन् भने, १७ अर्ब १२ करोड ७८ लाख ६ हजार बराबरको कुल कारोबार भएको छ ।

गत साताको भन्दा यो साताको कारोबार रकम झन्डै ५ अर्बले घटेको छ । कारोबारको पहिलो दिन नेप्से परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ को बिन्दुमा पुगेको थियो । त्यस्तै, ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४ सय ७१ रुपैयाँको मात्रै कारोबार भएको थियो ।

१३ वटा उपसमूहमध्ये दुई वटा बढ्दा ११ वटा घटेको थियो । सबैभन्दा धेरै घट्नेमा निर्जीवन बीमा कम्पनी रहेको थियो । जसको परिसूचक १११.४० अंकले घटेको थियो । त्यस्तै, आइतबार होटेल एन्ड पर्यटनमा लगानीकर्ता झुम्मिएका थिए । जुन १७७.६४ अंकले बढेको थियो ।

साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ३.९३ अंकले बढेर २११३.२७ को बिन्दुमा पुगेको थियो । सोमबार ३१७ कम्पनीका ५८ हजार ४ सय ८३ पटकको कारोबारमा ९३ लाख ३० हजार २ सय ९५ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

जसमा कारोबार रकम भने ३ अर्ब ८९ लाख ३७ हजार ६४ हजार १ सय ४३ रुपैयाँ रहेको थियो । सोमबार निर्माण तथा प्रशोधनमा लगानीकर्ता झुम्मिएका थिए, जुन ५०.७२ अंकले बढेको थियो भने, होटेल र पर्यटन सोमबार २६.७२ अंकले घटेको थियो ।

नयाँ बजेट प्रस्तुत भएको भोलिपल्टै सेयर बजारमा पहिरो गएको थियो । कारोबारको तेस्रो दिन नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ को बिन्दुमा पुगेको थियो । ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार २ सय ७४ रुपैयाँको कारोबार भएको थियो ।

त्यस्तै, १३ उपसमूहमध्ये ४ वटाको परिसूचक बढेको थियो भने ८ वटा घटेको थियो, साथै म्युचुअल फण्ड स्थिर रहेको थियो । निर्माण समूहको परिसूचक १७४.०१ अंकले बढ्दा होटेल र टुरिजमको ६१.७५ अंकले बढेको थियो । जीवन बीमा कम्पनीले १३४.६४ अंक गुमाउँदा निर्जीवन कम्पनीले १०४.६२ अंक गुमाएको थियो ।

साताको कारोबारको अन्तिम दिन नेप्से १९.८९ अंकले घटेर २०६९.५३ को बिन्दुमा पुगेको थियो । ३११ कम्पनीका ६१ हजार ७२ पटकको कारोबारमा ९८ लाख ६४ हजार ४ सय ४२ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

जसमा कारोबार रकम भने ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार १ सय ९५ रुपैयाँ रहेको थियो । बिहीबार १३ उपसमूहमध्ये १० वटा घटेर राताम्मे भएका थिए भने ३ वटा बढेका थिए । जसमा सबैभन्दा धेरै होटेल एन्ड टुरिजम १३९ दशमलव १३ अंकले घटेको थियो । त्यस्तै, निर्माण कम्पनी ८२ दशमलव ५८ अंकले बढेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको