Like us!
Follow us!
Connect us!
Watch us!

२४ राष्ट्रिय गौरवका आयोजनाको स्थिति समीक्षा, प्रधानमन्त्रीले दिए नयाँ सोच अपनाउन निर्देशन

अर्थ संसार

आइतबार, ०९ मंसिर २०८१, २१ : ४२ मा प्रकाशित

२४ राष्ट्रिय गौरवका आयोजनाको स्थिति समीक्षा, प्रधानमन्त्रीले दिए नयाँ सोच अपनाउन निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको कामलाई तीव्रता दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्बन्धित मन्त्री, सचिव, र आयोजना प्रमुखहरूसँग छलफल गरे। छलफलका क्रममा २४ वटा राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, वित्तीय तथा भौतिक प्रगति, समस्याहरू, र समाधानका उपायहरूको प्रस्तुति दिइयो।

आयोजनाहरूमा स्रोत सुनिश्चितता, न्यून बजेट, जग्गा अधिग्रहण, रुख कटान, बाढीपहिरोका कारण सडक अवरोध, प्रक्रियागत झमेला, मुअब्जा विवाद, र कानुनी मुद्दाहरू प्रमुख समस्याका रूपमा देखिएका छन्। हालसम्म मेलम्ची खानेपानी आयोजना र पशुपति क्षेत्र विकास कोष ८० प्रतिशत प्रगति भएका छन् भने पुष्पलाल (मध्यपहाडी) राजमार्ग, हुलाकी लोकमार्ग, उत्तर-दक्षिण कोशी कोरिडोरमार्ग, रानी जमरा कुलरिया सिँचाइ आयोजना, भेरी बबइ डाइभर्सन आयोजना, र लुम्बिनी विकास कोष ५० देखि ८० प्रतिशत प्रगतिको अवस्थामा छन्। अन्य आयोजनाहरू १० देखि ५० प्रतिशतको प्रगतिमा छन् भने बुढीगण्डकी जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना, र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जस्ता आयोजनाहरूमा १० प्रतिशतभन्दा कम प्रगति भएको छ।

बैठकका क्रममा प्रधानमन्त्री ओलीले आयोजना प्रमुखहरूसँग परियोजनाहरूको वर्तमान अवस्थाबारे स्पष्टता लिँदै कामलाई गति दिन नयाँ सोच र रणनीतिहरू अपनाउन आवश्यक रहेको बताए। उनले परम्परागत ढाँचामा सीमित नभई उत्पादन र रोजगारी वृद्धि गर्ने नयाँ दृष्टिकोणसहित आयोजना अघि बढाउन जोड दिए। ओलीले उत्पादन गर्न सम्भव हुने क्षेत्रमा आत्मनिर्भर अर्थतन्त्रको परिकल्पना गर्न र सोहीअनुसार काम गर्नुपर्नेमा पनि ध्यानाकर्षण गराए।

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, ऊर्जा मन्त्री दीपक खड्का, संस्कृति तथा पर्यटन मन्त्री बद्री पाण्डे, रक्षामन्त्री मानवीर राई, खानेपानीमन्त्री प्रदीप यादव, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, र आयोजनाहरूका प्रमुखहरूको उपस्थिति थियो। प्रधानमन्त्रीले तीव्रता दिन आवश्यक कदम चाँडै लागू गर्नुपर्नेमा जोड दिदै छलफल सम्पन्न गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको