 
                            धितोपत्र बोर्डको जिम्मेवारी सन्तोष नारायण श्रेष्ठले पाएका छन् । सोमबार बसेको सरकारको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। अध्यक्ष नियुक्तीका लागि आइतबार मात्रै बोर्ड अध्यक्ष सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गरेको थियो।
बोर्ड अध्यक्षमा श्रेष्ठ नियुक्त भएसँगै करिब पछिल्लो ११ महिनादेखि अध्यक्षबिहिन रहेको बोर्डले नेतृत्व पाएको छ। बोर्ड चुनौतीपूर्ण स्थितिमा रहेका बेला बोर्ड अध्यक्षको जिम्मेवारी पाएका श्रेष्ठमाथि चुनौतिका चाङ देखिएका छन्। सेयरबजार सुस्त रहेको, सेयर बजार चलायमान बनाउन भूमिका खेल्ने सार्वजनिक निष्कासन , थप सार्वजनिक निष्कासन, सामूहिक लगानी कोष , हकप्रद सेयर र ऋणपत्र निष्कासन कार्य पनि ११ महिनादेखि ठप्प जस्तै भएको,राजनितिक हस्तक्षेपका कारण नियम विपरीत भएर प्रिमियममा आइपिओहरु निष्काशन हुने क्रम, पुँजीबजारसम्बन्धी दजर्नौं काम रोकिएका बेला श्रेष्ठ यी सबै समस्याको सुधार गर्ने जिम्मेवारीमा छन् ।
वित्त विषयमा एमबीए गरेका सन्तोषले बैंक तथा वित्तीय संस्थामै आफ्नो करिअर स्थापित गरेका छन् । उनीसँग बैंक तथा वित्तीय क्षेत्र लामो समय काम गरेको अनुभव छ । सन्तोष नारायणले नेपाल एक्सप्रेस फाइनान्समा करिब एक दशक अध्यक्ष भूमिका निर्वाह गरेका थिए । नेपाल विद्युत प्राधिकरणमा सन्तोष नारायणले सञ्चालक समितिको सदस्य पनि थिए । तर, पुँजी बजारमा भने उनको नाम खासै चर्चामा थिएन । जब उनले धितोपत्र बोर्डको अध्यक्षमा उम्मेदवारी दिए तब उनको नाम एकाएक चर्चामा आएको हो ।
श्रेष्ठको अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग राम्रै सम्बन्ध रहेका कारणले उनले धितोपत्र बोर्डको अध्यक्ष बन्न सफल भएको कुरा पनि उठिरहेका छन् । तर,पनि लामो समय वित्त क्षेत्रमा सक्रिय रहेका सन्तोष नारायणले धितोपत्रको बागडोर कुशलतापूर्वक निर्वाह गर्छन् वा गर्दैनन्,त्यो आगामी दिनहरुमा देखिने नै छ ।
यस्तै,यसअघि रोकिएका धेरैवटा काम अघि बढ्ने अपेक्षा गरिएको छ । बोर्ड नेतृत्वविहीन भएपछि धितोपत्र बजारको नियमन प्रभावकारी रूपमा हुन सकिरहेको छैन । त्यस्तै सानातिना निर्णय गर्न समेत कर्मचारी डराउने अवस्था सिर्जना भएको थियो । आईपीओ निष्कासनका लागि बोर्डको पाइपलाइनमा ७७ कम्पनी छन्, अब तिनले स्वीकृति पाउने सम्भावना छ । आईपीओबाहेक ऋणपत्र, म्युचुअल फन्ड तथा हकप्रद निष्कासनको कार्य समेत रोकिँदै आएको छ ।
बोर्डले नयाँ अध्यक्ष पाएसँगै रोकिएका सार्वजनिक निष्कासन क्रमिक रुपमा खुल्दै जाने विश्वास गरिएको छ । त्यस्तै बजारको नियमन प्रभावकारी बनाउने र अनिर्णयको बन्दी हटाउने चुनौति नयाँ अध्यक्षसामु आएको छ । एमालेनिकट मानिएका श्रेष्ठलाई भद्रगोल धितोपत्र बोर्ड सही बाटोतिर लैजानुपर्ने चुनौती पनि रहेको छ । सेयर बजारका मूलभूत समस्या के हुन पहिचान गरेर बोर्डका नवनियुक्त अगाडि बढ्नुपर्ने लगानीकर्ताले बताएका छन् । करिब १ बर्षदेखि अध्यक्षबिहिन बोर्डमा श्रेष्ठ अध्यक्ष भए लगत्तै सेयरबजारमा सुधार आउने अपेक्षा पनि लगानीकर्ताको छ ।
नेपाल स्टक एक्सचेन्ज तथा सिडिएस एण्ड क्लियरिङको संरचनात्मक सुधार र कार्यसंचालन प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने, धितोपत्रको दोस्रो बजारको पहुँच देशको सम्पूर्ण भागमा पुर्याउनुपर्ने, वास्तविक क्षेत्रका कम्पनीहरुलाई पुँजी बजारमा ल्याउनुपर्ने,गैर आवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश गराउने विषय नवनियुक्त अध्यक्षका चुनौती देखिन्छन् ।
यस्तै, टिएमएसमा समस्या,नेप्से सिस्टममा आउने समस्या आउने जस्ता आधारभूत समस्यासमेत समाधान हुन नसकेको र यी बिषयलाई समाधान गर्ने जिम्मेवारी पनि श्रेष्ठमाथी थपिएको छ । यस्तै प्रिमियम मू्यमा आईपिओ जारी गर्ने विषय, सुरुमै विवादमा आएको बुक बिल्डिङ प्रणालीको विषयलाई पनि सहि तरिकाले अगाडि बढाउनुपर्ने चुनौति बोर्ड अध्यक्ष श्रेष्ठसामू छ ।
पछिल्लो समय नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने विषयमा बहस चलिरहेको छ । त्यसमा पनि उनको भूमिका महत्त्वपूर्ण हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस