Like us!
Follow us!
Connect us!
Watch us!

युक्रेन युद्धबारे अन्तर्राष्ट्रिय शक्ति सन्तुलन: को समर्थनमा, को विपक्षमा?

अर्थ संसार

सोमबार, १९ फागुन २०८१, ०८ : ०१ मा प्रकाशित

युक्रेन युद्धबारे अन्तर्राष्ट्रिय शक्ति सन्तुलन: को समर्थनमा, को विपक्षमा?

बेलायत, फ्रान्स र युक्रेनले रुस-युक्रेन युद्ध रोक्न मिलेर योजना बनाउन सहमत भएका छन् ।  युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको बेलायत भ्रमणको क्रममा बेलायती प्रधानमन्त्री केयर स्टारमरले यो जानकारी दिएका हुन् ।

स्टारमरले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिसँग जेलेन्स्कीको बहस पछि चार देशका नेताहरू बीचको वार्तामा यो योजना बनेको बताएका हुन् ।

उनले ट्रम्प युक्रेनमा दिगो शान्ति चाहन्छन् भन्ने कुरामा आफू विश्वस्त रहेको बताउदै उनले अमेरिकाले आफ्नो सुरक्षा ग्यारेन्टीमा अडिग रह्यो भने मात्र यो योजना सफल हुने स्पष्ट गरे ।

यसैबीच स्टारमरले लन्डनमा युरोपेली देशहरूको रक्षा शिखर सम्मेलनमा फ्रान्स, जर्मनी, डेनमार्क र इटाली सहित १३ देशहरू सामेल गरेर युक्रेन युद्धको अन्त्यबारे छलफल गरेका छन् । नेटोका महासचिव, युरोपेली संघ र युरोपेली परिषद्का अध्यक्ष पनि उपस्थित भएका छन् भने जेलेन्स्की पनि यस बैठकमा भाग लिएका छन् ।

यसअघि, शनिबार जेलेन्स्की इङ्गल्याण्ड आइपुग्दा बेलायती प्रधानमन्त्री स्टारमरले जेलेन्स्कीलाई अँगालो हालेर स्वागत गरे । सडकमा निस्किएका मानिसहरूले जेलेन्स्कीको समर्थनमा चर्को नारा समेत लगाएका थिए ।

स्टारमरले जेलेन्स्कीलाई युक्रेनलाई बेलायतको पूर्ण समर्थन रहेको आश्वस्त गरेका थिए । 

यस भ्रमणका क्रममा बेलायतले युक्रेनलाई २.८ बिलियन डलर ऋण दिएको छ । यसका लागि बेलायती प्रधानमन्त्री स्टारमर र युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शनिबार सम्झौतामा हस्ताक्षर गरेका छन् । 

यो ऋण युक्रेनको लागि आवश्यक हतियार खरिद गर्न प्रयोग गरिनेछ । गत वर्ष अक्टोबरमा, जी ७ देशहरूले युक्रेनलाई ५० अर्ब डलर सहयोग प्रदान गर्ने वाचा गरेका थिए ।

युक्रेनलाई समर्थन गर्ने मुद्दामा युरोपेली संघ भित्र पनि विवाद रहेको छ । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले युक्रेनलाई आर्थिक वा सैन्य सहायता प्रदान नगर्ने बताएका छन् । युक्रेनले सैन्य बल प्रयोग गरेर रुसलाई वार्ताको टेबलमा ल्याउन कहिल्यै सक्षम नहुने उनको धारणा रहेको छ ।

यसअघि हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले पनि जेलेन्स्कीको विरुद्धमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई समर्थन गरेका थिए ।

जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न शुक्रबार ह्वाइट हाउस पुगेका थिए । जहाँ दुई जनाबीच चर्को बहस भयो । ट्रम्प-भान्स र जेलेन्स्की एकअर्कामाथि औंला उठाउँदै गरेको देखियो । ट्रम्पले जेलेन्स्कीलाई धेरै पटक हप्काएको पनि देखियो ।

यो घटनापछि धेरै युरोपेली नेताहरूले जेलेन्स्कीलाई समर्थन जनाएका छन् । नर्वे, नेदरल्याण्ड्स, पोल्याण्ड, युरोपेली संघ, जर्मनी, बेलायत, क्यानडा र अष्ट्रेलिया जस्ता युरोपेली देशहरूले पनि जेलेन्स्कीको समर्थन गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको