राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एयरपोर्ट गएर पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न आग्रह गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत शाहीले कतारका राजालाई स्वागत गर्न हुने तर नेपालका राजालाई स्वागत गर्न किन नहुने भन्दै प्रधानमन्त्रीलाई यस्तो आग्रह गरेका हुन्।
उनले लेखेका छन्,’सम्माननीय प्रधानमन्त्रीज्यूलाई नै आज काठमाडौँ एयरपोर्टमा गएर राजाको स्वागत गर्न हार्दिक अपिल र अनुरोध गर्दछु। कतारका राजालाई प्रधानमन्त्रीज्यूले स्वागत गर्न हुने नेपालका राजालाई स्वागत गर्न किन नहुने? राजा सबैका साझा हुन् प्रधानमन्त्री र राष्ट्रपतिका पनि राजा हुन्।’
शाहीले जनताको इच्छा र आकाङ्क्षालाई बन्देज गर्ने चेष्टा नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन्।
‘१६ वर्षमा देशमा लुटतन्त्र मच्चाएर अझै पुगेको छैन गाउँ गाउँमा छोटे राजाहरू छन्। ८० लाखभन्दा बढी युवाहरू अर्काको देशमा काम गर्न बाध्य छन्। एक वर्षमा ७ लाखभन्दा बढी युवाहरू विदेशिन्छन्। उद्योग बन्द गर्यौ कलकारखाना बन्द गर्यौं। राजाका पालामै निर्माण भएका निःशुल्क उपलब्ध स्वास्थ्य शिक्षा जस्ता आधारभूत सेवा र सुविधाहरू पैसामा बिक्री गर्ने र बेच्ने धन्दा चलायौ। अदालत कार्यकर्ताको बनायौं,’उनले अगाडि लेखेका छन्,’प्रहरी कार्यकर्ताको बनायौ। कर्मचारी कार्यकर्ताको बनायौ शिक्षक कार्यकर्ता बनायौ भ्रष्टाचारले तिमीहरू डङ डङ्गती गनायौ। तिमीहरूलाई अझै के आधारमा विश्वास गर्ने? अब तिमीहरू जस्ता भ्रष्टाचारीहरूलाई तह लगाउनका लागि एउटा संस्था चाहियो जसलाई भनिन्छ राज संस्था?’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस