संघीय संसद प्रतिनिधिसभाको बैठक आज बिहीबार बिहान ११ बजे बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ।
आजको बैठकको सम्भावित कार्यसूचीमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन्।
साथै, ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित टेबल गरिनेछ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले ‘नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोक सेवा आयोगको ६५औं वार्षिक प्रतिवेदन’ पेश गर्नेछन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि छलफलको प्रस्ताव राख्नेछन्।
यसैबीच, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम छ।
यसअघि बुधबार बसेका दुई बैठक विपक्षी दलहरूको अवरोधका कारण अघि बढ्न सकेनन्। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विरोधमा नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपालगायतका विपक्षी सांसदहरूले बैठक अवरुद्ध गरेका थिए।
सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका लागि सांसदहरूलाई बस्न आग्रह गरे पनि विपक्षीहरूले अस्वीकार गरेपछि बैठक स्थगित भएको थियो। विपक्षी दलहरूले घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने माग राख्दै विरोध जनाएका छन्।
यसै विषयमा बुधबार बिहानै सभामुख घिमिरेले विपक्षी दलका नेतासँग छलफल गरेका थिए। सभामुखले ऊर्जामन्त्रीबाट जवाफ दिलाउने प्रस्ताव गरे पनि विपक्षी नेताहरूले असहमति जनाउँदै प्रधानमन्त्रीकै जवाफको माग गरेका थिए।
आजको बैठकमा कुलमान प्रकरणलाई लिएर पुनः अवरोध हुने सम्भावना उच्च रहेको राजनीतिक विश्लेषकहरू बताउँछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस