Like us!
Follow us!
Connect us!
Watch us!
बजेट अधिवेशनको औपचारिक सुरुआत

आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै, राष्ट्रपति पौडेलले दिउँसो ४ बजे सम्बोधन गर्ने

अर्थ संसार

सोमबार, २८ बैशाख २०८३, ०७ : ०७ मा प्रकाशित

आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै, राष्ट्रपति पौडेलले दिउँसो ४ बजे सम्बोधन गर्ने

संघीय संसदको नयाँ अधिवेशन आजदेखि सुरु हुँदैछ । यही अधिवेशनमार्फत सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ।

सरकारको वार्षिक कार्यदिशा र प्राथमिकता समेटिएको नीति तथा कार्यक्रम आज दिउँसो बस्ने संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिने कार्यसूची रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ।

संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज नै प्रारम्भ हुँदैछ। प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको बैठक दिउँसो २ बजे बस्ने कार्यतालिका रहेको छ। त्यसपछि दिउँसो ४ बजे दुवै सदनको संयुक्त बैठक आयोजना गरिनेछ।

उक्त संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारका आगामी आर्थिक वर्षका प्राथमिकता, विकास रणनीति, राजस्व नीति, पूर्वाधार विस्तार, निजी क्षेत्र प्रवर्द्धन तथा सामाजिक क्षेत्रसँग सम्बन्धित योजनाहरू समेटिएको दस्तावेज प्रस्तुत गर्नेछन्।

नीति तथा कार्यक्रम प्रस्तुत भएसँगै संसदमा यसमाथि छलफलको प्रक्रिया अघि बढ्नेछ। यही अधिवेशनमा सरकारले वार्षिक बजेट पनि ल्याउने भएकाले यो अधिवेशनलाई बजेट अधिवेशनका रूपमा विशेष महत्वका साथ हेरिएको छ।

संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ १५ गते अर्थमन्त्रीले संसदमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बजेटअघि नीति तथा कार्यक्रम सार्वजनिक गरिने भएकाले आजको बैठकलाई अर्थतन्त्र, लगानी, पूर्वाधार र निजी क्षेत्रका दृष्टिले चासोका साथ हेरिएको छ।

देशको आर्थिक सुस्तता, लगानी संकुचन, रोजगारी चुनौती र निजी क्षेत्रको मनोबल कमजोर भइरहेका बेला सरकारले ल्याउने नीति तथा कार्यक्रमप्रति उद्योगी, व्यवसायी, लगानीकर्ता र सर्वसाधारणको विशेष ध्यान केन्द्रित भएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको