नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई बैंकलाई ऋणपत्र साढे ७ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन बिक्री खुला गर्न अनुमति दिएको छ । बोर्डले एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो ।
एनआईसी एसियाले ५ अर्ब रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र ल्याउन अनुमति पाएका छन्।
अब एनआईसी एसिया बैंकले ‘एनआईसी डिबेन्चर’ नाम ऋणपत्र ल्याउनेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ।एनआईसी एसिया बैंकको यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्रको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
यसैगरी राष्ट्रिय वाणिज्य बैंकले ‘आरबीबीएल डिबेन्चर’ नाम ऋणपत्र ल्याउनेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये बैंकले १५ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १० लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ।राष्ट्रिय वाणिज्य बैंकको यो ७ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्रको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस