नेपाल राष्ट्र बैंकले उच्च निगरानीमा राखेका एक दर्जनभन्दा बढी विकास बैंक र फाइनान्स कम्पनीको वित्तीय अवस्था कमजोर बन्दै गएको पाइएको छ।
केन्द्रीय बैंकको पछिल्लो दोस्रो त्रैमासिक अध्ययनले यीमध्ये केही विकास बैंकको अवस्थामा सामान्य सुधार देखिए पनि फाइनान्स कम्पनीहरूको अवस्था झन् बिग्रिएको जनाएको छ।
राष्ट्र बैंकले गत पुस १० मा कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिएपछि पोखरा फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, समृद्धि फाइनान्स, सेन्ट्रल फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकसहितका संस्थालाई निगरानीमा राखेको छ।
दोस्रो त्रैमासमा ३ विकास बैंक र ५ फाइनान्स कम्पनीको खराब कर्जा बढेको छ।
यस्तो छ राष्ट्र बैंकको उच्च निगरानीमा रहेका संस्थाहरुको पछिल्लो अवस्था
- नारायणी डेभलपमेन्ट बैंक
समस्याग्रस्त सूचीबाट २०७७ साउनमा हटेको नारायणी डेभलपेमन्ट बैंक निरन्तर राष्ट्र बैंकको उच्च निगरानीमा रहेको छ । बैंकमा नयाँ व्यवस्थापन आएपछि राष्ट्र बैंकले समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट हटाएको थियो । चालु आवको दोस्रो त्रैमाससम्ममा बैंकको खराब कर्जा ४७.५५ प्रतिशत तथा प्राथमिक पुँजी कोष अनुपात ०.३२ प्रतिशत मात्र छ । बैंकले ५० करोड ३३ लाख निक्षेप संकलन गरेर ३६ करोड ५१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७३.३८ प्रतिशत रहेको छ । बैंकको खुद तरलता ३७.३५ प्रतिशत तथा वैधानिक तरलता अनुपात ३६.०४ प्रतिशत रहेको छ ।
- सप्तकोशी डेभलपमेन्ट बैंक
केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सप्तकोशी डेभलमेन्ट बैंकको खराब कर्जा ११.४२ प्रतिशत तथा प्राथमिक पुँजी कोष अनुपात ८.६१ प्रतिशत छ । बैंकले ७ अर्ब ५८ करोड निक्षेप संकलन गरेर ५ अर्ब ९० करोड कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७८.८१ प्रतिशत रहेको छ । बैंकको खुद तरलता ३१.८५ प्रतिशत तथा वैधानिक तरलता अनुपात ३१.७६ प्रतिशत रहेको छ ।
- सिन्धु विकास बैंक
गत पुस मसान्तसम्म सिन्धु विकास बैंकको खराब कर्जा अनुपात ९.४६ प्रतिशत तथा प्राथमिक पुँजी कोष ६.८३ प्रतिशत मात्र रहेको छ । बैंकले सो अवधिसम्ममा ५ अर्ब ६२ करोड निक्षेप संकलन गरेर ३ अर्ब ८४ करोड कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ६८.६७ प्रतिशत रहेको छ । बैंकको खुद तरलता ३६.४७ प्रतिशत तथा वैधानिक तरलता अनुपात ३६.०४ प्रतिशत रहेको छ ।
- जानकी फाइनान्स
केन्द्रीय बैंकका अनुसार चालु आवको दोस्रोे त्रैमासमा जानकी फाइनान्सको खराब कर्जा ४०.८९ प्रतिशत छ । यस अवधिमा फाइनान्सको प्राथमिक पुँजी कोष अनुपात ०.१६ प्रतिशत नकारात्मक रहेको छ । फाइनान्सले गत पुससम्म ४ अर्ब ५५ करोड निक्षेप संकलन गरी ३ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सको कर्जा निक्षेप अनुपात ६७.५८ प्रतिशत रहेको छ । जसको खुद तरलता ४८.३४ प्रतिशत तथा वैधानिक तरलता अनुपात ४९.९० प्रतिशत रहेको छ ।
- पोखरा फाइनान्स
चालु आवको पुससम्ममा पोखरा फाइनान्सको खराब कर्जा अनुपात ३३.४४ प्रतिशत रहेको छ । जसको प्राथमिक पुँजी कोष अनुपात ३.०८ प्रतिशत नकारात्मक रहेको छ । फाइनान्सले १० अर्ब ६० करोड निक्षेप संकलन गरेर ७ अर्ब ९८ करोड कर्जा लगानी गरेको छ । यसको कर्जा निक्षेप अनुपात ६९.८७ प्रतिशत रहेको छ । जसको खुद तरलता ३३.५४ प्रतिशत तथा वैधानिक तरलता अनुपात २९.९७ प्रतिशत रहेको छ ।
- समृद्धि फाइनान्स
चालु आवको पुससम्ममा फाइनान्सको खराब कर्जा कुल कर्जाको १९.३० प्रतिशत छ, जसको प्राथमिक पुँजी कोष अनुपात ९.९१ प्रतिशत रहेको छ । फाइनान्सले गत पुससम्म २ अर्ब ६४ करोड निक्षेप संकलन गरी १ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस फाइनान्सकोे कर्जा निक्षेप अनुपात ७१.३१ प्रतिशत रहेको छ । जसको खुद तरलता ३९ प्रतिशत तथा वैधानिक तरलता अनुपात ३१.७५ प्रतिशत रहेको छ ।
- गोर्खाज फाइनान्स
चालु आवको दोस्रो त्रैमासमा गोर्खाज फाइनान्सको खराब कर्जा १४.४२ प्रतिशत छ । जसको प्राथमिक पुँजी कोष अनुपात १०.०३ प्रतिशत छ । फाइनान्सले गत पुससम्म ९ अर्ब ९४ करोड निक्षेप संकलन गरी ७ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसको कर्जा निक्षेप अनुपात ७६.१८ प्रतिशत रहेको छ । जसको खुद तरलता ३४.२८ प्रतिशत तथा वैधानिक तरलता अनुपात २६.१२ प्रतिशत रहेको छ ।
- सेन्ट्रल फाइनान्स
यसैगरी सेन्ट्रल फाइनान्सको पनि खराब कर्जा ११.९४ प्रतिशत रहेको छ । जसको प्राथमिक पुँजी कोष अनुपात १५.८३ प्रतिशत छ । फाइनान्सले गत पुससम्म ७ अर्ब ७२ करोड निक्षेप संकलन गरी ४ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सकोे कर्जा निक्षेप अनुपात ६३.०१ प्रतिशत रहेको छ । जसको खुद तरलता ४५.९२ प्रतिशत तथा वैधानिक तरलता अनुपात ४०.५४ प्रतिशत रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस