अमेरिका र चीनबीच चर्किंदो व्यापार तनावबीच बुधबार अमेरिकी सेयर बजार मिसिएको सुरुवातमा देखिएको छ। चिनियाँ सरकारले अमेरिकी सामानमा थप ट्यारिफ घोषणा गरेसँगै लगानीकर्तामा तनाव देखिएको हो।
बुधबार बिहान ९:५२ बजेको अवस्थाअनुसार, डाउ जोन्स इन्डस्ट्रियल एभरेज ९४.७२ अंकले (०.२५%) बढेर ३७,७४०.३१ विन्दुमा पुगेको छ। एसएन्डपी ५०० सूचकांक ३१.९६ अंकले (०.६४%) बढेर ५,०१४.७३ पुगेको छ भने नास्डाक कम्पोजिट २२२.९३ अंकले (१.४६%) उकालो लागेर १५,४९०.८४ मा कारोबार भइरहेको छ।
तर बजार खुलेको समयको प्रारम्भिक ट्रेडिङमा भने फरक तस्वीर देखिएको थियो। खुल्दाको समयमा डाउ जोन्स २५७.७ अंकले (०.६८%) घटेर ३७,३८७.९१ मा थियो, एसएन्डपी ५०० पनि १७.५ अंकले (०.३५%) घटेर ४,९६५.२८ मा थियो। नास्डाक कम्पोजिट भने २७.५ अंकले (०.१८%) बढेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको रेसिप्रोकल ट्यारिफको जवाफस्वरूप चीनले अप्रिल १० देखि लागू हुने गरी अमेरिकी वस्तुमा ट्यारिफ ८४% पुर्याउने घोषणा गरेको छ। यसअघि यो दर ३४% थियो।
यसले विश्वव्यापी मुद्रास्फीति (इन्फ्लेसन) बढ्नसक्ने तथा विश्व अर्थतन्त्रको वृद्धिमा अवरोध आउनसक्ने चिन्ता लगानीकर्तामाझ छ।
मेगाक्याप कम्पनीहरूमध्ये एप्पल र एनभिडिया करिब २.५% ले उकालो लागेका छन् भने माइक्रोसफ्टको सेयर मूल्य १.२% ले बढेको छ।
स्वास्थ्यसम्बन्धी कम्पनीहरुको प्रदर्शन कमजोर देखिएको छ। इलाई लिलीको सेयर ३.७% ले घटेको छ भने एब्भी ४.१% ले ओरालो लागेको छ।
डेल्टा एयरलाइन्सको सेयर ७.१% ले बढेको छ। कम्पनीले सन् २०२५ का लागि दिएको वित्तीय पूर्वानुमान फिर्ता लिएको घोषणापछि सेयरमा उछाल आएको हो।
तेलको मूल्य ४ वर्षयताकै न्यूनतम स्तरमा झर्दा ऊर्जा कम्पनीहरूमा गिरावट देखिएको छ। एक्सन मोबिल र शेभरन दुवैको सेयर १.५% भन्दा बढी घटेको छ।
चीन–अमेरिका ट्यारिफ तनावबीच लगानीकर्ताले सुरक्षित लगानीका रूपमा सुन रोज्न थालेका छन्।
बुधबार बिहान ९:०१ बजे (ET) को अवस्थामा स्पट गोल्डको मूल्य २.२% ले बढेर प्रति औंस $३०४८.१९ पुगेको छ। युएस गोल्ड फ्युचर्स २.५% ले बढेर $3,065.40 मा कारोबार भइरहेको छ।
चाँदीको मूल्य १.४% ले बढेर $३०.२६ पुगेको छ भने प्लेटिनम ०.६% घटेर $९१५.५९ र पलाडियम १.१% ले घटेर $८९७.१४ पुगेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस