ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङले आफूसमक्ष आयोजना गरिएको कार्यक्रममा सचिव सुरेश आचार्य अनुपस्थित भएको विषयमा स्पष्टीकरण माग गरेका छन्।
गत चैत्र २५ गते सोमबार, जलस्रोत तथा सिँचाइ विभाग, जावलाखेल ललितपुरमा आयोजित सिँचाइ दिवस तथा ७२औं वार्षिक उत्सवको कार्यक्रममा राज्यमन्त्री तामाङको उपस्थिति रहेको थियो। तर सोही कार्यक्रममा मन्त्रालयका सचिव आचार्यले नआएको भन्दै कार्यक्रम बहिष्कार गरेको आरोपसहित राज्यमन्त्रीले स्पष्टीकरण मागेका हुन्।
पत्रमा उल्लेख भएअनुसार, राज्यमन्त्री उपस्थित कार्यक्रमप्रति सचिव आचार्यले उपेक्षापूर्ण व्यवहार गर्दै, विभागका महानिर्देशक संजीव बरालले पटक–पटक आसनग्रहणको लागि आग्रह गर्दा पनि "राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार छैन" भन्ने तुच्छ अभिव्यक्ति दिएका थिए।
राज्यमन्त्रीको तर्फबाट जारी पत्रमा भनिएको छ, “नेपाल सरकारको सचिव पदको गरिमा र मर्यादालाई बेवास्ता गर्दै, पदीय आचरण विपरीत व्यवहार देखाएको, अव्यवस्थित र असंयमित कार्यशैलीले मन्त्रालयको प्रतिष्ठामा गम्भीर असर पुर्याएकोले तपाईंलाई अनुशासनको कारबाही किन गर्नु नपर्ने हो?”
साथै राज्यमन्त्रीले सचिव आचार्यको उक्त व्यवहारलाई गम्भीर रूपमा लिएर अनुशासनिक कारबाहीको चेतावनी समेत दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस