राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्दोलनका कारण आज (आइतबार) काठमाडौंमा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ ।
बिजुलीबजार लगायतका फुटपाथमा हिँडेकाहरूलाई समेत रोकेपछि सर्वसाधारण आक्रोशित बनेका छन् । विशेषगरी कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानपर्ने कर्मचारीलाई मर्का परेको छ। माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ।
प्रहरीले आवश्यकताअनुसार ‘रुट’ परिवर्तन गरी सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले राससलाई जानकारी दिएको छ । कार्यालय समयमा सवारीसाधन लामो समयसम्म जाममा पर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो । राप्रपाले निषेधित क्षेत्र बिजुलीबजार पुल आसपासमा भेला हुने जनाएपछि माइतीघर, बबरमहल र नयाँबानेश्वर क्षेत्रमा सवारी आवगमनमा रोक लगाइएको छ ।
उक्त क्षेत्रमा तारबार गरेर अवाञ्छित गतिविधि रोक्ने प्रयत्न भएको छ भने धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । गृहमन्त्रालयले राप्रपाका नामबाट निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउदै गृहमन्त्रालयले कानुन उल्लंघन गर्न प्रोत्साहन गर्ने, समाजमा अराजकता फैलाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस