चर्चित कलाकार जितु नेपालले हाल राजधानी काठमाडौंमा भइरहेका आन्दोलन र त्यसबाट सर्वसाधारणले भोग्नुपरेको समस्याप्रति सामाजिक सञ्जालमार्फत गहिरो असन्तुष्टि व्यक्त गरेका छन्।
उनले फेसबुकमा एक लामो स्टाटस लेख्दै माइतीघरदेखि सुरू हुने जुलुसको कारण आम जनताले भोग्नुपरेको दुःखलाई उजागर गरे।
"यो बाटो जान मिल्दैन भन्यो, बार लगायो, प्रहरी बस्यो," भनेर स्टाटस सुरू गरेका जितु नेपालले आफ्नो गुनासो विस्तार गर्दै भने, "अनि काम गरेर खाने मान्छेले चाहिँ के गर्ने?"
उनले दैनिक रुपमा कार्यालय पुग्नुपर्ने कर्मचारी, व्यावसायिक गतिविधि गर्ने व्यापारी, र आम नागरिकको सास्तीलाई उठान गर्दै आन्दोलन गर्ने तरिका नै बदलिनुपर्ने बताए।
कलाकार नेपालको भनाइमा, यदि कुनै मागका लागि आन्दोलन आवश्यक नै छ भने त्यसलाई खुला ठाउँमा, सर्वसाधारणको बाटो बन्द नगरी गर्नुपर्छ। “माइतीघरबाट जुलुस हिँड्ने बित्तिकै कोटेश्वरदेखि तीनकुनेसम्म गाडी खेदेर गौशाला पठाउने चलन कहिलेसम्म?” भनेर उनले प्रश्न गरे।
उनले जनताले निजी सवारीसाधन वा सार्वजनिक यातायात प्रयोग गरेर बाटोमा हिँड्ने अधिकारको सम्मान गर्न आग्रह गरेका छन्। “साइरन बजाएर हिँड्नेहरूले जनताको मार्का पनि बुझ्न पर्छ,” भन्दै उनले सत्तामा बसेकाहरूले जनताको पीडा महसुस गर्नुपर्ने धारणा व्यक्त गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस