Like us!
Follow us!
Connect us!
Watch us!

स्पेन, पोर्चुगल र दक्षिणी फ्रान्समा भीषण बिजुली अवरोध, लाखौं प्रभावित

अर्थ संसार

मंगलबार, १६ बैशाख २०८२, ०६ : ५८ मा प्रकाशित

स्पेन, पोर्चुगल र दक्षिणी फ्रान्समा भीषण बिजुली अवरोध, लाखौं प्रभावित

सोमबार (२८ अप्रिल) स्पेन, पोर्चुगल र दक्षिणी फ्रान्सका केही भागमा व्यापक र अभूतपूर्व विद्युत् अवरोधले करोडौंको दैनिक जीवन अस्तव्यस्त बनाएको छ। मध्याह्नतिर सुरु भएको यो अवरोधले सबवे नेटवर्क, फोन लाइन, ट्राफिक लाइट र एटीएम सेवा प्रभावित पार्‍यो। प्रारम्भिक रिपोर्टहरू अनुसार यो अवरोध युरोपेली बिजुली प्रणालीमा उत्पन्न समस्याका कारण भएको अनुमान गरिएको छ, यद्यपि अनुसन्धान जारी छ।

यस विद्युत् अवरोधका कारण म्याड्रिड र लिस्बनजस्ता प्रमुख सहरहरू अन्धकारमा डुबेका थिए। स्पेनको सार्वजनिक प्रसारक RTVE का अनुसार, मध्याह्नपछि केही समयमै देशभरि ठूलो असर देखिएको थियो। म्याड्रिडस्थित स्पेनको संसद भवन र धेरै भाग प्रभावित भए। स्पेनको बिजुली सञ्जालको वेबसाइटमा देखाइएको ग्राफअनुसार स्थानीय समय अनुसार १२:१५ बजे विद्युत् माग २७,५०० मेगावाटबाट अचानक करिब १५,००० मेगावाटमा घटेको देखिएको छ।

पोर्चुगलको राजधानी लिस्बन र उत्तर तथा दक्षिणी क्षेत्रहरूमा पूर्ण अन्धकार फैलिएको थियो। पोर्चुगली मन्त्री लेइटाओ अमारोले "यो समस्या स्पेनतर्फको वितरण सञ्जालमा भएको देखिन्छ" भनेर बताएका छन्।

विद्युत् वितरण कम्पनी E-Redes ले पनि युरोपेली बिजुली प्रणालीमा समस्या देखिएको र ग्रिडलाई स्थिर बनाउन केही क्षेत्रहरूमा विद्युत् कटौती गर्नुपरेको पुष्टि गरेको छ।


यातायातमा ठुलो अवरोध : रेल र सबवेहरू ठप्प

विद्युत् अवरोधका कारण स्पेनभरि सबै रेल सेवा रोकियो। म्याड्रिड र लिस्बनका सबवेहरू पनि बन्द गरिनुपर्‍यो। स्पेनको रेल सञ्चालन कम्पनी Adif ले "विद्युत् कटौतीका कारण सम्पूर्ण देशभरि रेलहरू रोकिन पुगे" भनेको छ। लिस्बनमा पनि सबवे सवारीहरू खाली गराइएका थिए भने म्याड्रिड अन्तर्राष्ट्रिय विमानस्थल (बराजास) सहित केही विमानस्थलहरूमा ढिलाइ र उडान रद्द हुने घटना भएका छन्।

म्याड्रिड ओपन टेनिस प्रतियोगिताको खेलसमेत विद्युत् अवरोधका कारण स्थगित भएको थियो। धेरै मेट्रो स्टेशनहरू खाली देखिएका थिए र ट्रेनहरू सुरुङभित्र अड्किएका थिए। स्पेनको ट्राफिक विभागले ट्राफिक लाइटहरू नचल्ने भएकाले सडकमा ननिस्कन अनुरोध गरेको थियो।


आपतकालीन उपायहरू र पुनर्स्थापन प्रयासहरू

करीब ५० मिलियन जनसंख्या प्रभावित भएपछि अधिकारीहरू विद्युत् पुनर्स्थापनमा जुटेका छन्। स्पेनको विद्युत् सञ्चालन कम्पनी Red Eléctrica ले देशको उत्तर र दक्षिणका केही भागहरूमा विद्युत् फर्किएको जनाएको छ। "हामी पूर्ण रुपमा विद्युत् बहाल गर्न कार्यरत छौं, यो कार्य ६ देखि १० घण्टा लाग्न सक्छ," कम्पनीले जनाएको छ।

पोर्चुगलमा अस्पताल र आपतकालीन सेवाहरूका लागि ब्याकअप सिस्टम सञ्चालनमा ल्याइएको थियो। ट्राफिक व्यवस्थापनका लागि प्रहरीहरू खटाइएको थियो। ग्याँस स्टेशन, एटीएम र इलेक्ट्रोनिक भुक्तानी प्रणालीहरूमा पनि असर परेको थियो।

स्पेनका विमानस्थलहरूमा यात्रुहरू अलपत्र परेका थिए भने सेवा प्रभावित भएका थिए।


संभावित कारणहरू : युरोपेली ग्रिड समस्या वा फ्रान्समा आगलागी

विद्युत् अवरोधको कारण अहिलेसम्म स्पष्ट भइसकेको छैन। स्पेनको ग्रिड सञ्चालन कम्पनीले यो घटना "असाधारण र अभूतपूर्व" भएको जनाएको छ। पोर्चुगलका अधिकारीहरूले समस्या स्पेनतर्फको विद्युत् वितरण सञ्जालमा भएको बताएका छन्।

फ्रान्सबाट आएको रिपोर्ट अनुसार दक्षिण-पश्चिम फ्रान्सको अलारिक पहाड नजिकै भएको आगलागीले पर्पिग्नान र नार्बोनबीचको उच्च भोल्टेज लाइनलाई क्षति पुर्याएको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, यो प्रत्यक्ष कारण हो वा होइन भन्ने पुष्टि भइसकेको छैन।


जारी अनुसन्धान र जनजीवन

स्पेन र पोर्चुगल दुबैले आपतकालीन बैठकहरू गरी अवस्था अनुगमन गरिरहेका छन्। स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजले Red Eléctrica को मुख्यालय पुगेर विद्युत् पुनर्स्थापन कार्यको स्थलगत अवलोकन गरेका छन्। पोर्चुगलमा पनि मन्त्रिपरिषद् बैठक बसेको छ।

स्पेन, पोर्चुगल मात्र नभई फ्रान्स र आन्डोरा तथा बेल्जियमका केही क्षेत्रहरू पनि विद्युत् अवरोधबाट प्रभावित भएका छन्।

विद्युत् र मोबाइल नेटवर्क नहुँदा मानिसहरू रेडियोबाट समाचार बुझिरहेका थिए। धेरैले सडकमा स्मार्टफोन उठाएर नेटवर्क खोज्ने प्रयास गरिरहेका दृश्यहरू देखिएको AFP का संवाददाताले बताएका छन्।

स्पेनका औद्योगिक सहरहरूमा जेनेरेटरको माग पनि तीव्र रुपमा बढेको देखिएको छ।

पोर्चुगलको आपतकालीन सेवा प्राधिकरणले अत्यावश्यक सेवाहरूमा ब्याकअप पावर सक्रिय भएको बताएको छ, तर पूर्ण रुपमा विद्युत् सेवा बहाल गर्न अझै समय लाग्नेछ।

681028857edf4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको