अर्थ संसार, काठमाडौँ – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य धमाधम अगाडि बढीरहेपनि प्रसारण लाइन तथा सवस्टेशनको अभावमा विद्युत् खखेर जाने अवस्था आउन सक्ने आशंका बढेर गएको छ ।
प्रसारण लाइन निर्माण कार्य पचास प्रतिशतको आसपासमा सकिएको भएपनि विजुली लगेर जोड्ने सवस्टेशनको काम भने हालसम्म सुरु हुन सकेको छैन ।
विद्युत् लगेर जोडिने रामेछापको फुलासीस्थित न्यू खिम्ती सबस्टेसन निर्माणले गति लिन नसकेको र हालसम्म माटो परिक्षण नै भनेर आयोजना बसीरहेको छ ।
सवस्टेशन निर्माणको जिम्मा प्राधिकरणको हो । तर प्राधिकरणले परिचालन गरेको परामर्शदाता र ठेकेदार भने चुपचाप बसीरहेको छ ।
लामो समयसम्म मुआब्जा र जग्गा प्राप्तिको विवादमा फसेको सवस्टेशनको काम सुरु गराउन कुनै पनि निकायले चासो नदेखाएकोमा गुनासो बढेको छ ।
प्राधिकरणले ध्यान नदिदा लामो समयसम्म सवस्टेशनको काम अगाडि नबढेको सरोकारवालाको भनाइ छ ।
प्रसारण लाइन र सबस्टेसन निर्माणको सम्पूर्ण काम सम्पन्न गर्न अझै डेढ वर्ष लाग्ने बताइएको छ ।
आगामी २०७५ सालको मंसिरमा आयोजनाले विद्युत् उत्पादन गर्ने समयसीमा तोकिएको सन्दर्भमा प्रसारण लाइन र सवस्टेशनको अभावमा विद्युत् खेर जाने आशंका बढेको छ ।
विद्युत् उत्पादन भएपनि प्रसारण लाइन र सवस्टेशन नहुँदा विद्युत् खेर जाने अवस्था आए आयोजना र प्राधिकरण दुवैलाई ठूलो घाटा पर्ने तथा मुलुकमा समेत विद्युत् प्रवाहमा समस्या आउने भएपनि प्राधिकरणले ध्यान दिन नसकेको गुनासो बढ्दै गएको छ ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ३३ किलोमिटर प्रसारण लाइन निर्माण गर्न बाँकी रहेको छ ।
आयोजनाले कुल प्रसारण लाइन निर्माण पचास प्रतिशत सकिएको भन्दै प्रचार गरेपनि हालसम्म १४ किलोमिटर प्रसारण लाइन तान्ने काम सकिएको छ ।
कुल ४७ किलोमिटर लामो उक्त प्रसारण लाइन निर्माणमा जुन स्तरको गति दिनुपर्ने हो सो भने हुन सकेको छैन ।
प्रसारण लाइन माथिल्लो तामाकोशी जलविद्युत् आयोजना स्वयम्ले नै निर्माण गरिरहेको छ ।
प्रसारण लाइन निर्माण गर्न अझै ३३ किलोमिटर बाँकी रहेको सन्दर्भमा कुल १२० वटा टावर मात्रै निर्माण सम्पन्न भएको छ । प्रसारण लाइएनमा २२७ वटा टावर निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ ।
कुल २२० केभी क्षमताको डबल सक्रिट प्रसारण लाइन निर्माणमा कुनै समस्या नभएपनि कामले गति लिन नसकेकोमा नेपाल विद्युत् प्राधिकरणले आयोजनालाई सचेत गराउँदै आएको छ ।
आयोजनाको अध्यक्षमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्वयम् छन् ।
प्रसारण लाइन गोंगरदेखि खिम्तीसम्म निर्माण गर्नुपर्नेछ । प्रसारण लाइन निर्माणमा सक्षम जनशक्तिको अभाव देखिएको छ । असाध्यै जोखिमपूर्ण कामको रुपमा लिइने प्रसारण लाइन निर्माणमा आवश्यक जति जनशक्ति व्यवस्थापन गर्न नसक्दा समस्या भएको जनाइएको छ ।
आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेकाअनुसार १ सय २० टावर निर्माण गर्न जग तयार भइसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस