प्रतिनिधिसभाको आइतबारको बैठकले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
यही वैशाख १९ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको थियो । त्यसमा वैशाख २२ देखि २८ गतेसम्म निरन्तर छलफल भएको थियो । छलफलको अन्तिम दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए ।
त्यसपछि सभामुखले नीति तथा कार्यक्रममाथि विभिन्न सांसद्ले पेश गरेका संशोधन प्रस्ताव निर्णयार्थ पेश गरेका थिए । ती सबै अस्वीकृत भएपछि अन्तिममा सभामुख देवराज घिमिरले सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्ताव ध्वनी मतको आधारमा बहुमतले पारित भएको हो ।
आइतबारकै बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) प्रस्तुत गरेका छन् ।
आगामी ३० वैशाखमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ ।
नेपालको संविधानअनुसार प्रत्येक वर्षको जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको विनियोजन विधेयक (बजेट) संघीय संसद्को संयुक्त बैठकमा पेश गर्ने व्यवस्था छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस