राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले मुलुकका प्रमुख राजनीतिक दलहरू राष्ट्र निर्माणको मूल उद्देश्यबाट च्युत हुँदै निर्वाचमुखी राजनीतिमा केन्द्रित भएको आरोप लगाएका छन्।
शुक्रवार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै वाग्लेले भने, 'हामी राष्ट्र निर्माणको विराट उद्देश्यबाट अलिकति विचलित भयौं, अनि निर्वाचमुखी राजनीतिमा अल्झियौं, जसका कारण अहिले राजनीतिको मूल मर्म हराउँदै गएको देखिन्छ।'
उनले बजेट निर्माण प्रक्रियामा सांसदहरूबीच देखिने ‘लुछाचुँडी’को आलोचना गर्दै भने, 'अर्थमन्त्रीज्यू यहाँ बस्नुभएको छ, सबै सांसदहरूले कानेखुसी गर्छन्– मेरो नछुटोस् है भनेर। यही भोट बैंकको राजनीति र टुक्रे आयोजनाको अभ्यासले राज्य प्रणालीमा नै दोष देखिएको हो।'
वाग्लेले वर्तमान संसदीय प्रणालीको ठाउँमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरिएमा यस्तो समस्या न्यूनीकरण हुने धारणा राखे। 'यदि हामी प्रत्यक्ष कार्यकारी व्यवस्थातिर गयौं भने यो राजनीतिक अन्योल अन्त्य हुने सम्भावना छ,' उनले भने।
उनले हालको संरचना प्रणालीगत ओभरलोडको स्थितिमा पुग्न लागेको भन्दै एजेन्डा थपिँदै गए पनि त्यस अनुरूप क्षमताको विकास हुन नसकेको चिन्ता पनि व्यक्त गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस