राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले संसदलाई ढाँट्ने थलो भएको आरोप लगाएकी छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कार्कीले मन्त्रीहरू संसद् बैठकमा गम्भीर नभई भिडिओ गेम खेल्ने, खासखुस गर्ने र उठेर हिँड्ने गरेको व्यवहारले संसदको गरिमा गिर्दै गएको बताइन्।
उनको भनाइमा, 'संसद जस्तो निरस ठाउँ अरू कतै छैन। यहाँ आत्मसम्मान धितो राख्नुपर्छ, बोलिन्छ तर सुन्दैनन्, कुर्सीहरू प्रायः खाली हुन्छन्।'
सरकारले जनतालाई सांसदहरूमार्फत झुटा आश्वासन दिँदै आएको पनि कार्कीको आरोप छ। मन्त्रालयगत बजेटको बाँडफाँड पहिल्यै भइसकेपछि राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नु नाटक मात्रै भएको उनको दाबी छ।
'यो बजेट पहिल्यै बनिसक्छ, त्यसपछि राष्ट्रपतिबाट नीति तथा कार्यक्रम आउँछ। हामी संशोधन प्रस्ताव राख्छौं, गम्भीर बहस गर्छौं, तर त्यो सुन्ने कोही हुँदैन,'उनले भनिन्।
त्यस्तै, उनले सामाजिक सञ्जालमा केही लेखेको भरमा नागरिकलाई थुन्नु लोकतान्त्रिक मूल्य र गणतन्त्रसँग असंगत भएको उल्लेख गरिन्। 'के सामाजिक सञ्जालमा विचार लेखेकै कारण थुन्नु गणतन्त्र हो?' भन्दै उनले प्रश्न गरिन्।
सांसद कार्कीले संसदलाई गम्भीर र जवाफदेही थलो बनाउन सरकार र मन्त्रीहरूलाई आफ्नो व्यवहारमा परिवर्तन ल्याउन आग्रह गरिन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस