उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन गरिएको नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति आज अपराह्न ४ बजेदेखि बैठकमा बसेको छ।
सिफारिस समितिमा अर्थमन्त्री पौडेलसँगै निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य रहेका छन्। समितिको बैठक अहिले सिंहदरबारस्थित अर्थ मन्त्रालय परिसरमा चलिरहेको स्रोतले जानकारी दिएको छ।
यसअघि समितिको पहिलो संरचना विवादमा परेपछि भंग गरिएको थियो भने हालको नयाँ संरचना अन्तर्गत आज पहिलोपटक बैठक बसेको हो।
सत्तारुढ दल एमाले र कांग्रेसबीच लामो समयदेखि गभर्नर नियुक्तिको विषयमा सहमति जुट्न नसक्दा सिफारिस प्रक्रिया अघि बढ्न सकेको थिएन। तर, मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भएको भेटवार्तापछि सहमतिको संकेत देखिएको छ।
बैठकपछि समितिले एकजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। आज साँझ ६ बजे बस्ने मन्त्रिपरिषद् बैठकले उक्त नामलाई अनुमोदन गर्दै नयाँ गभर्नरको नियुक्ति गर्ने सम्भावना उच्च छ।
गभर्नर नियुक्तिको सकारात्मक संकेतसँगै आज सेयर बजारमा उल्लेख्य वृद्धि देखिएको छ। NEPSE परिसूचक ४९.०९ अंकले उकालो लागेर २६७७.४५ बिन्दुमा पुगेको छ।
सरकारले डा. विश्व पौडेललाई गभर्नरमा नियुक्त गर्ने तयारी गरिरहेको चर्चा चलिरहेको छ। यद्यपि समितिको बैठकको निर्णयपछि मात्र औपचारिकता टुंगिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस