Like us!
Follow us!
Connect us!
Watch us!

डा. पौडेलको कार्यकालप्रति चेम्बरको आशा—निजी क्षेत्रमैत्री नीति बनाउनु पर्ने सुझाव

अर्थ संसार

शनिबार, १० जेठ २०८२, २० : ४९ मा प्रकाशित

डा. पौडेलको कार्यकालप्रति चेम्बरको आशा—निजी क्षेत्रमैत्री नीति बनाउनु पर्ने सुझाव

नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना व्यक्त गरेको छ। चेम्बरका कार्यबाहक अध्यक्ष दीपक कुमार मल्होत्रासहितको टोलीले राष्ट्र बैंकको बालुवाटारस्थित कार्यालयमा पुगेर गभर्नर डा. पौडेललाई व्यक्तिगत रुपमा भेट गरी शुभकामना दिएको हो।

चेम्बरद्वारा जारी विज्ञप्तिमा गभर्नर डा. पौडेललाई आर्थिक तथा वित्तीय क्षेत्रमा अनुभवी र योग्य व्यक्तित्वको रूपमा सम्मान गर्दै, उहाँको नियुक्तिलाई नेपालको वित्तीय क्षेत्रमा दीर्घकालीन सुधार र स्थायित्व कायम गर्ने दिशातर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको उल्लेख गरिएको छ।

कार्यक्रममा चेम्बरले गभर्नर पौडेललाई समग्र आर्थिक विकास, मुद्रास्फीति नियन्त्रण, विदेशी मुद्रा सञ्चिति सुदृढीकरण, वित्तीय पहुँच विस्तार र समावेशी वित्तीय प्रणाली निर्माण जस्ता राष्ट्रिय प्राथमिकता भएका विषयमा रणनीतिक योजना सहित अगाडि बढ्न सुझाव दिएको छ।

कार्यबाहक अध्यक्ष मल्होत्राले हाल मुलुक आर्थिक सुस्तताको चरणमा रहेको भन्दै आगामी बजेट र मौद्रिक नीतिबीचको प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उहाँले भने, “नयाँ गभर्नरको भूमिका अर्थतन्त्रलाई पुनः चलायमान बनाउने दिशामा निर्णायक हुनेछ भन्ने हामीलाई विश्वास छ।”

चेम्बरले राष्ट्र बैंकलाई डिजिटल वित्तीय प्रणालीको प्रवर्द्धन, सूक्ष्म, साना तथा मझौला उद्यम (MSME) को वित्तीय पहुँचमा सुधार, र समावेशी नीतिको विकासमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा पनि जोड दिएको छ।

विज्ञप्तिमा करिब चार वर्षदेखि राष्ट्र बैंकका संकुचित नीतिहरूका कारण निजी क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको जनाउँदै, चेम्बरले उद्यमी–व्यवसायीको आत्मविश्वास पुनः स्थापित गर्न कर्जाको प्रवाह बढाउनुपर्नेमा जोड दिएको छ। साथै, चालु पुँजी कर्जा निर्देशिका खारेज गर्न पनि चेम्बरले माग गरेको छ।

नेपाल चेम्बर अफ कमर्सले राष्ट्र बैंकलाई समन्वयकारी, सुदृढ र उद्यममैत्री नीतिहरू अवलम्बन गर्न सुझाव दिँदै गभर्नर पौडेलको कार्यकाल सफल होस् भन्ने कामना गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको