नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजतन्त्र समर्थकहरूलाई जनविरोधी भन्दै लोकतान्त्रिक गणतन्त्रको संरक्षणमा सिंगो पार्टी एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
जेठ १५ गतेको गणतन्त्र दिवसलाई विशेष उत्सवका रूपमा मनाउन आयोजना गरिने जनप्रदर्शनको तयारीस्वरूप बसेको जनसंगठन पदाधिकारीहरूको बैठकमा पोखरेलले भने, 'लोकतान्त्रिक गणतन्त्रविरुद्ध गरिने कुनै पनि गतिविधि जनताको सम्प्रभुतामाथिको प्रहार हो। त्यसैले यस्ता गतिविधिको विरोधमा आम जनतालाई सचेत बनाउने कार्यमा पार्टी पंक्ति सक्रिय बन्नुपर्छ।'
उनले गणतन्त्र दिवसलाई जनताको उत्सवको दिन भन्दै, पार्टीले त्यसलाई विशेष उत्सवका रूपमा मनाउने स्पष्ट पारे।
पार्टी सचिवालयको ५२औं बैठकले जेठ १५ गतेको दिनलाई देशभर उत्सवका रूपमा मनाउने निर्णय गरिसकेको छ। काठमाडौं उपत्यकामा भने उपत्यकाभरिका पार्टी कमिटी र पार्टीसँग आवद्ध विभिन्न संगठनहरूको आयोजनामा सांस्कृतिक झाँकीसहित विशेष कार्यक्रमहरू आयोजना गरिने एमालेले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस