नेपालका सार्वजनिक यातायात व्यवसायीहरू सोमवार जेठ १९ गतेदेखि देशव्यापी अनिश्चितकालीन यातायात बन्दमा उत्रिने घोषणा गरेका छन्।
‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आव्हानमा सबै सार्वजनिक सवारी साधनहरू ग्यारेज वा घरमै थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको छ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार, गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नियमावलीले निजी प्रयोजनका लागि खरिद गरिएका पुराना सवारीहरूलाई भाडामा चलाउन दिने प्रावधान ल्याएपछि सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलित भएका हुन्।
संघर्ष समितिका अनुसार, गण्डकी प्रदेश सरकारको मिति २०८२/१/३१ को मन्त्री परिषद्को निर्णयअनुसार बनेको ‘राइड सेयरिङ नियमावली २०८२’ संविधानको धारा ५७ को उपधारा ६, उपधारा ३ र ५ तथा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८(२) र दफा १२(१) को स्पष्ट उल्लंघन हो।
यस नियमावलीमार्फत १० वर्ष पुराना दुई पाङ्ग्रे र १५ वर्ष पुराना चार पाङ्ग्रे निजी सवारीहरूलाई व्यवसायिक रूपमा प्रयोग गर्न दिने बाटो खुलेको भन्दै समितिले आपत्ति जनाएको छ।
संघर्ष समितिले सम्बन्धित मन्त्रालय तथा निकायमा पटक–पटक ध्यानाकर्षण पत्र बुझाएर नियमावली खारेजको माग गर्दै आएको थियो। तर सरकारले कुनै सुनुवाइ नगरेपछि अन्ततः आन्दोलनको बाटो रोज्नुपरेको समितिको भनाइ छ।
समितिले सात बुँदे माग पत्र पनि नेपाल सरकार समक्ष पेश गरिसकेको छ। तर माग सम्बोधन नभएको भन्दै आन्दोलन गर्न बाध्य भएको स्पष्ट गरिएको छ।
संयुक्त प्रेश विज्ञप्तिमा भनिएको छ, "यस बन्दबाट पर्न सक्ने सम्पूर्ण असरको जिम्मेवारी नेपाल सरकारको हुनेछ। आम उपभोक्ता, यात्रु, मजदुर, कर्मचारी सबैलाई सार्वजनिक यातायात जोगाउन आ–आफ्नो क्षेत्रबाट सक्दो साथ र समर्थन गर्न हामी हार्दिक अपिल गर्दछौँ।"
आन्दोलनमा सहभागी संगठनहरूमा सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ र एकीकृत समाजवादी यातायात मजदुर संगठन रहेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस