बिहीबार सेयर बजार परिसूचक करिब ६ अंकले घटेर कारोबार बन्द भयो । सेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक ५.९९ अंकले घटेर कारोबार बन्द भयो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा पछि सेयर बजारमा उत्साह थपिने विश्वास गरिएको थियो । मौद्रिक नीतिको समीक्षा सार्वजनिक भएको भोलिपल्टको कारोबार खुल्ने वित्तीकै सेयर बजारमा उच्च वृद्धि देखिएको भए पनि अन्त्यमा भने कारोबार घटेर नै कारोबार बन्द भयो । मौद्रिक नीतिको समीक्षा लगतै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुने भएकाले लगानीकर्ताहरुले बजेट पर्केको चर्चा भयो । तर बजेट पछिका सबै कारोबार दिनमा सेयर बजार घटेर कारोबार भएको छ ।
मौद्रिक नीतिको समीक्षा मार्फत केन्द्रीय बैंकल सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतमा झारेको थियो । यस अघि यस्तो जोखिम भार १२५ प्रतिशत रहेको थियो । लगानीकर्ताले विगत लामो समयदेखि सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम गर्न माग गर्दै आएका थिए । सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम गर्दा सेयर बजारमा लगानी बढ्ने विश्वास गरिएको थियो । तर, पछिल्लो समय सेयर बजारमा सोचेजस्तो उत्साह भने देखिएन् ।
अहिल अर्थसमितिमा छलफलमा रहेको बाफियामा बैंकर र व्यवसायी छुट्याउनले कारणले बजार घटेको हुन सक्ने स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले बताए । सबै सूचक सकारात्मक रहेको अवस्थामा बजार बढ्न नसक्नुको कारण बाफियालाई नै मान्न सकिने उनको भनाइ छ ।
नेपाल लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष तारा फुल्लेलले अहिले बजार घट्नुको कारण नै एकिन नभएको बताए । ‘सबै सूचक सकारात्मक हुँदा पनि बजार घटिरहेको छ । यसमा लगानीकर्ताहरु पनि अच्चममा परेका छन्,’ उनले भने । यो साता नै बजार बढ्नु पर्ने भए पनि अर्को साता भने बजार बढ्ने अनुमान गर्न सकिने उनको भनाइ छ ।
अहिले चर्चा भइरहेको बाफिया र कर लगाउने विषयहरुका कारण बजारले गति लिन नसकेको लगानीकर्ता गोपाल स्वामीको भनाइ छ । बजारमा नयाँ पैसा आउनै नसकेको उनको भनाइ छ । बजार असारसम्म यस्तै रहने उनले बताए । ‘बजारमा नयाँ पैसा आउन सकेको छैन । असारसम्ममा बजार यस्तै रहने देखिन्छ,’ उनले भने । बजार हल्लाले गर्दा बढन् नसकेको उनको भनाइ छ । बजार घटिरहेको अवस्थामा लगानीकर्ताहरुका लागि किन्ने समय रहेको उनको बताए ।
त्यस्तै नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलले सेयर बजार हल्लै हल्लाका कारणले घटेको बताए । सबै सूचकहरु सकारात्मक रहेको अवस्थामा सेयर बजार हल्लाका कारणले बढ्न नसकेको उनको भनाइ छ । ‘सेयर बजारमा मनोवैज्ञानिक कुराले प्रभाव पार्छ, त्यसैले अहिले अनावश्यक हल्लाका कारणले गर्दा बजार घटेको हुन सक्छ,’ उनले भने । फण्डामेन्टल कुरा भन्दा पनि हल्लाले नेपालको सेयर बजारलाई प्रभाव पार्ने गरेको उनको भनाइ छ । अहिले बैंकहरुले सहज रुपमा ऋण लगानी गरिरहेको र ब्याजदर पनि निकै कम रहेको अवस्था छ । तर पनि लगानीकर्ताहरु उत्साहीत हुन नसकेको अवस्था रहेको कँडेलको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस