भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुबीच विवाद भएको छ । सिंहदरबारमा शुक्रबार बसको बैठकमा रास्वपा सांसद गणेश पराजुलीको भनाइप्रति अन्य दलका सांसदहरुले आपत्ति जनाएपछि चर्काचर्की भएको हो ।
बैठकमा रास्वपा सांसद पराजुलीले राज्यका निकायको मिलेमतोमा नेपाल नागरिकहरू बेचिनुपरेकाले आफूहरूले छानबिन समितिको माग गरेको धारणा राखेका थिए । उनले संसदीय समितिमा मानवतस्करी विरुद्ध उभिने सांसद, सदनमा आफ्नो पार्टीको ह्विप मानेर निरीह बनेर बस्ने गरेको टिप्पणी गरेका थिए ।
सांसद पराजुलीले भिजिट भिसा प्रकरणको विषय समितिमा प्रवेश गरिसकेकाले गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने माग समेत गरे । भिजिट भिसा प्रकरण रास्वपाको मुद्दा मात्रै हो ? भन्दै उनले प्रश्न गरेपछि सत्तापक्ष सांसदहरुले आपत्ति जनाएका थिए । नेपाली कांग्रेसका सांसद राजु थापाले भिजिट भिसा प्रकरण अख्तियारले छानबिन गरिरहेकाले समितिको विषय नभएको बताए । उनले विषयवस्तुभन्दा बाहिर गएर पराजुलीले धारणा राखेको भन्दै रुलिङ गर्न माग गरे । विवाद भएपछि समिति सभापति अब्दुल खानले विषयवस्तुभित्र रहेर धारणा राख्न आग्रह गरे । सांसद पराजुलीले आफ्नो समयभित्र विषयवस्तु राख्दा आपत्ति हुनुपर्ने कारण स्पष्टसँग चाहिने बताए । त्यसपछि पुनः कांग्रेस सांसद थापाले आफूहरूलाई निरीह भनेको भन्दै पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण कुमार श्रेष्ठ मानवतस्करीको विरोध आफूहरूले पनि गरेको भन्दै रास्वपा मात्रै यसको ठेकदार हो ? भन्दै आक्रोशित भएका थिए । रास्वपा सांसद पराजुलीले मानवतस्करीविरुद्ध सबैको एकमत भए छानबिन समिति गठन गर्न चुनौती दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस