नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सम्पत्ति शुद्धीकरण विरुद्ध प्रभावकारी नीति, रणनीति, प्रणाली र मापदण्ड तयार गरी कार्यान्वयन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन्। जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघु जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका एएमएल/सीएफटी कार्यान्वयन अधिकारीहरूको सहभागिता रहेको दक्षता अभिवृद्धि कार्यक्रममा सम्बोधन गर्दै ओझाले सम्पत्ति शुद्धीकरण विरुद्ध प्राधिकरणले जारी गरेका निर्देशिका र निर्देशनहरूलाई परिमार्जन गरेर आन्तरिक नीति तयार गरी कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
अध्यक्ष ओझाले कार्यक्रमको दौरान भने, 'बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण हुन नदिनका लागि रोकथामका उपायलाई बलियो बनाउनु पर्छ। जोखिमको सही मूल्याङ्कन गर्नुपर्छ र त्रुटिहरू पत्तालगाएर रोक्नुपर्छ। यसका लागि जोखिम विश्लेषणको दक्षता अभिवृद्धि गर्न आवश्यक छ।'
उनले बीमा गर्ने व्यक्तिको आम्दानीको स्रोत र वित्तीय क्षमता सही ढंगले मूल्याङ्कन गर्नुपर्ने बताउँदै बीमा कम्पनीहरूले यसलाई पहिलो प्राथमिकता दिनु पर्ने कुरा जनाए। 'बीमा कम्पनीहरूको वित्तीय जोखिम मूल्याङ्कनमा सुधार गर्न आवश्यक छ। अबैध रकमको आवागमन रोक्नका लागि जोखिम मूल्याङ्कनलाई सशक्त बनाउनुपर्छ,' उनले भने।
ओझाले सम्पत्ति शुद्धीकरण विरुद्धको अभियानलाई राज्यको प्राथमिकता बताउँदै यसलाई प्राधिकरणको प्राथमिकतासमेत भने। उनले बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण विरुद्ध एकजुट भएर काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन्।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण विरुद्ध बीमा कम्पनीहरूलाई सबल बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
फाइनान्सियल इन्फर्मेशन यूनिटका प्रमुख वासुदेव भट्टराईले बीमा कम्पनीहरूले जोखिम क्षेत्र पहिचान गरी रोकथामका प्रभावकारी उपायहरू लागू गर्नुपर्ने आवश्यकता औंल्याए।
नेपाल बीमा प्राधिकरणका नियमन महाशाखाका निर्देशक शाम्भ राज लामिछानेले बीमा कम्पनीहरूका सम्बन्धित अधिकारीहरूलाई प्रावधान, रोकथाम उपाय र सुधारका क्षेत्रहरू बारे विस्तृत जानकारी दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस