नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरेर कर्जा प्रवाह गर्न अनुमति दिएको छ। तर, पछिल्लो समय बैंकहरुको सीडी रेसियो औसतमा ८० भन्दा पनि तल रहेको अवस्था छ । बजारमा पर्याप्त तरलता भए पनि बैंकहरूले ऋण प्रवाह गर्न गर्न सकेका छैनन् ।
तत्काल बैंकहरुको सीडी रेसियो ७८.३१ प्रतिशत रहेको छ । केही बैंकको सीडी रेसियो ६५ प्रतिशतभन्दा पनि कम रहेको छ ।
कुन बैंकको सीडी रेसियो कति ?
पछिल्लो तथ्यांक अनुसार राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ६४.३१ प्रतिशत रहेको छ । यो २० वटा वाणिज्य बैंकमध्ये सबै भन्दा कम सीडी रेसियो हो । हालको अवस्थामा सबै भन्दा बढी सीडी रेसियो हुने बैंकमा सिटिजन्स बैंक रहेको छ । यो बैंकको सीडी रेसियो ८५.६० प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुमध्ये प्रभु बैंकको सीडी रेसियो ७१.५० प्रतिशत रहेको छ ।
त्यस्तै स्ट्याण्र्डर्ड चार्टर्ड बैंकको सीडी रेसियो ७१.५७ प्रतिशत, नेपाल एसबिआई बैंकको ७१.१० प्रतिशत, नेपाल बैंक लिमिटेडको ७२.१३ प्रतिशत, कृषि विकास बैंकको ७४.९६ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७५.८६ प्रतिशत रहेको छ । त्यस्तै ग्लोबल आइएमई बैंकको ७७.२० प्रतिशत, एनआईसी एशिया बैंकको ८०.१६ प्रतिशत, एभरेष्ट बैंकको ८०.१९ प्रतिशत र कुमारी बैंकको ८०.५१ प्रतिशत रहेको छ ।
पछिल्लो समय लक्ष्मी सनराइज बैंकको सीडी रेसियो ८१.०४ प्रतिशत, सिद्धार्थ बैंकको ८१.३८ प्रतिशत, सानिमा बैंकको ८१.६६ प्रतिशत, हिमालयन बैंकको ८२.१७ प्रतिशत, नविल बैंकको ८३.१९ प्रतिशत, एनएमबी बैंकको ८४.०५ प्रतिशत, प्राइम कमर्सियल बैंकको ८४.३९ प्रतिशत र माछापुच्छ्रे बैंकको ८४.४५ प्रतिशत रहेको छ ।
बैंकहरुमा निक्षेपका रुपमा जम्मा भएको रकममध्ये कति ऋणमा प्रयोग गरिएको छ भन्ने सीडी रेसियोले देखाउँछ । यसमा बैंकहरुले लिएको वैदेशिक ऋण, राष्ट्र बैंकबाट प्रदान गरिएको पुनर्कर्जा, बैंकहरुले जारी गरेको ऋणपत्रबाट प्राप्त भएको रकमलाई पनि निक्षेपका रुपमा गणना गर्न मिल्छ । तर कम्पनीको पुँजीलाई यसमा गणना गर्न मिल्दैन । उदाहरणका लागि, यदि कुनै बैंकले १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने त्यसको ९० प्रतिशत अर्थात ९० करोड रुपैयाँ मात्र कर्जा प्रवाह गर्न पाउने छन् ।
कर्जा प्रवाह नहुनुमा राजनीतिक अनिश्चितता, लगानीमैत्री वातावरणको अभाव र कारोबार सुस्त अवस्थामा हुँदा ऋण माग पनि कम भएको बैंकरहरूको भनाइ छ।
नीतिगत जवाफदेही कसको ?
नियम बनाउने राष्ट्र बैंक, बजार चलायमान बनाउने सरकार, वा नाफामात्र हेर्ने बैंक—जवाफदेही को हो भन्ने चर्चा भने चलिनै राखेको नै छ । बैंकहरुले कर्जा प्रवाह गर्न नसक्नुको कारण आम उपभोक्ताको क्रयशक्तिमा आएको कमी पनि एउटा कारण रहेको नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीको भनाइ छ ।
उपभोक्ताको क्रयशक्तिमा ह्रास आएका कारण उत्पादन भएको वस्तुको खपत नहुने कारणले लगानी हुन नसक्दा बैंकहरुमा रकम थुप्रिएको उनले बताए । अर्को तर्फ नेपालको उत्पादनको संरक्षण समेत हुन नसकेकाले स्वदेशमा उत्पादन गर्ने भन्दा पनि बाहिरबाट ल्याउँदा सस्तो पर्ने भएकाले पनि अर्थतन्त्रमा संकुचनको अवस्था देखिएको उनको भनाइ छ ।
काम गर्नका लागि श्रमिकको अभावका कारण पनि लगानी नभएको क्षेत्रीको भनाइ छ । ‘ब्याजदर महंगो भएका कारण लगानी भएन भन्नेहरु पनि अहिले लगानी गर्न नसक्नु भनेको बजारमा माग नहुनु नै हो,’ उनले भने । लगानी बढाउनका लागि स्वदेशी उत्पादनलाई संरक्षण गर्ने नीति लिनु पर्ने उनको सुझाब छ । बाहिरबाट कच्चा पदार्थ ल्याउँदा तयारी सामानभन्दा कम कर लगाउनु पर्ने क्षेत्रीको भनाइ छ ।
अर्को तर्फ सरकारले नै नेपालमा उत्पादन हुने वस्तुको संरक्षण गर्ने र स्वदेशी वस्तु उपलब्ध हुने अवस्थामा विदेशी सामानको प्रयोग गर्न निरुत्साहित गर्नु पर्ने पूर्व गभर्नर अधिकारीको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस