आर्थिक वर्ष २०८०/८१ का लागि हालसम्म २२ वटा बीमा कम्पनीले आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्। तीमध्ये ११ वटा जीवन बीमा कम्पनी र ११ वटा निर्जीवन बीमा कम्पनी छन्।
सबै कम्पनीहरूले अघिल्लो वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका हुन्।
जीवन बीमातर्फ
जीवन बीमा कम्पनीतर्फ एशियन लाइफ, हिमालयन लाइफ, एलआईसी नेपाल, नेशनल लाइफ, रिलायबल नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ, सानिमा रिलायन्स लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ, नेपाल लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेका छन्। यीमध्ये धेरै कम्पनीहरूले बोनस सेयर र नगद दुवै किसिमको लाभांश घोषणा गरेका छन्।
एलआईसी नेपालले हाल कायम ५ अर्ब चुक्तापुँजीमा १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले असार १६ गते बुक क्लोज गर्ने जनाएको छ। नेपाल लाइफले १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश दिने भएको छ। सिटिजन लाइफले सबैभन्दा बढी २६.९८ प्रतिशत बोनस र १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत घोषणा गरेको छ।
त्यस्तै, आइएमई लाइफले २१.०५ प्रतिशत नगद, सूर्यज्योति लाइफले २० प्रतिशत नगद र हिमालयन लाइफले ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन्। अन्य कम्पनीहरू—एशियन, नेशनल, रिलायबल, प्रभु महालक्ष्मी र सानिमा रिलायन्सले पनि बोनस र नगद मिलाएर ८ प्रतिशतदेखि १५ प्रतिशतसम्मको लाभांश प्रस्ताव गरेका छन्।
निर्जीवन बीमातर्फ
निर्जीवन बीमा कम्पनीहरूमध्ये प्रभु इन्स्योरेन्स, युनाइटेड अजोड, एनएलजी, नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट, सानिमा जीआईसी, आईजीआई प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर, सगरमाथा लुम्बिनी, नेको र शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेका छन्।
प्रभु इन्स्योरेन्सले १८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९५ नगद सिद्धार्थ प्रिमियरले सबैभन्दा उच्च १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। सगरमाथा लुम्बिनीले पनि १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। नेपाल इन्स्योरेन्सले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिनेछ।
शिखर इन्स्योरेन्सले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्नेछ भने आईजीआई प्रुडेन्सियलले करसहित ९.७४ प्रतिशत नगद लाभांश दिने भएको छ। सानिमा जीआईसीले ७.५० प्रतिशत बोनस र ०.३९ प्रतिशत नगद लाभांश दिनेछ।
अन्य कम्पनीहरू—नेको इन्स्योरेन्सले ७ प्रतिशत बोनस र ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्नेछ भने एनएलजी इन्स्योरेन्सले २.५० प्रतिशत बोनस र ०.१३ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । यस्तै, युनाइटेड अजोडले पनि १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।
यी मध्ये धेरै कम्पनीहरूले वार्षिक साधारण सभा सम्पन्न गरिसकेका छन् भने केहीले सभा मिति र बुक क्लोज मिति अझै तय गर्न बाँकी छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस