धितो कर्जामा जोखिम भार घटाइएको, ब्याजदर ऐतिहासिक रूपमै कम, र मौद्रिक नीतिले सेयर बजारमैत्री धार लिएको भए पनि बजारमा अपेक्षित सुधार देखिएको छैन। लगानीकर्ताबीचको निरन्तर असमझदारी, नीतिगत अन्योल, र मनोवैज्ञानिक दबाबका कारण नेपाल सेयर बजार सुस्त गतिमा अघि बढिरहेको छ।
बजारका सबै आर्थिक सूचकहरू सकारात्मक देखिए पनि लगानीकर्ताहरू अझै पनि सतर्क छन् – जसले हालको बजार प्रवृत्तिलाई अन्योलपूर्ण बनाइरहेको छ।
नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा ल्याएको निर्णयलाई पूँजी बजारका लागि सकारात्मक संकेतका रूपमा लिइए पनि त्यसको प्रभाव बजारमा देखिएको छैन। विश्लेषकहरूका अनुसार, नीति सुधारहरू बजारको वास्तविक मनोविज्ञानसँग जुध्न असफल भएका छन्।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाटका अनुसार, अहिले अर्थसमितिमा छलफल भइरहेको बाफिया विधेयकले लगानीकर्ता र बैंकरबीच द्वन्द्व सिर्जना गरेको छ, जसले बजारमा दबाब सिर्जना गरिरहेको छ। नेपाल लगानीकर्ता संघका कार्यबाहक अध्यक्ष तारा फुल्लेल भन्छन्, 'सबै आर्थिक सूचक सकारात्मक हुँदा पनि बजार घट्नु लगानीकर्ताका लागि अचम्मको कुरा हो।'
लगानीकर्ता गोपाल स्वामीका अनुसार बजारमा नयाँ पूँजी प्रवेश गर्न नसक्दा कारोबार सीमित भएको हो। उनले भने, 'हालको अवस्था हेर्दा असार महिनासम्म बजार यस्तै रहने सम्भावना छ।'
नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलले सेयर बजारको सुस्त गतिलाई ‘मनोवैज्ञानिक हल्ला’को असर भनेका छन्। उनका अनुसार, 'सेयर बजारमा वास्तविकता भन्दा पनि हल्लाले बढी असर पार्छ। फन्डामेन्टल सूचकहरू बलियो हुँदा पनि बजार नउठ्नुको कारण यही हो।'
कँडेलले बजार स्थायित्वका लागि अर्थतन्त्र सुधार र प्रतिस्पर्धात्मक स्टक एक्सचेन्ज स्थापना आवश्यक भएको बताए।
त्यसैगरी लगानीकर्ता तिलक कोइरालाले ठूला लगानीकर्ताको रणनीतिले बजार प्रभावित बनाउने हुँदा साना लगानीकर्ताहरूले दीर्घकालीन सोचसहित विवेकपूर्ण लगानी गर्नुपर्ने धारणा राखे। उनले भने, 'समुद्रमा ठूला माछाले साना माछा खान्छन्, सेयर बजारमा पनि त्यस्तै हो।'
लगानीकर्ताहरूले सेयर बजारबाट सजिलै फाइदा लिने भ्रम त्याग्नुपर्ने र कम्पनीको आधारभूत अवस्था मूल्यांकन गरी दीर्घकालीन सोचसहित मात्रै लगानी गर्नुपर्ने सुझाव दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस