आज नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले ६७ औं वार्षिक उत्सब मनाउँदै छ । आज भन्दा ६७ वर्ष पहिले स्थापना भएको नेपालको पहिलो र सरकारी स्वामित्वको एयरलाइन्स कम्पनी आजदेखि ६७ वर्ष पुरा गरेर ६८ औं वर्षमा प्रवेश गरेको हो ।
वि.स २०१५ असार १७ गते (सन् १९५८ को जुलाई १) मा स्थापना भएको यो एयरलाइन्सले नेपालका दुर्गम क्षेत्रलाई राजधानी काठमाडौंसँग छिटो र छरितो रुपमा जोड्ने काम गरेको थियो । निकै गौरवपूर्ण इतिहास रहेको सरकारी स्वामित्वको यो संस्थान अहिले निकै दयनीय अवस्थामा रहेको छ ।
सरकारी कम्पनीले न त निजी क्षेत्रका कम्पनीहरुसँग प्रतिप्रर्धा गर्न सकेको छ नत भने अनुसारको व्यापार नै गर्न सकेको छ । ६७ वर्षको अवधिमा नेपाल एयरलाइन्स ५० अर्ब रुपैयाँको ऋणमा डुबेको छ । आन्तरिक रुपमा बढी यात्रु हुने क्षेत्रमा नेपाल एयरलाइन्सले आफ्नो उडान भर्न सकेको छैन भने अन्तराष्ट्रिय उडानहरु पनि मुख्य सिजनमा कम हुने गरेका छन् । अवस्था यस्तोसम्म पनि छ कि सिजनको समयमा नेपाल एयरलाइन्सका जहाँज बिग्रेर उडानै नहुने अवस्था हुन्छ ।
स्थापना कालमा २८ सिट क्षमतायुक्त डोग्लस डिसी–३ डाकोटा विमानमार्फत आकाशमा उडान सुरु गरेको थियो । ६ दशकभन्दा लामो इतिहास रहेको निगमले अहिले वाइडबडी ए३३०–२०० सिरिजका विमानसहित सेवा दिइरहेको छ । सुरुका समयमा देशको एकमात्र हवाई सेवा प्रदायकका रूपमा निचिएको एयरलाइन्स अहिले भने नेपालका दुर्गममा केही मात्रामा टुइनेटर बिमानबाट उडान गर्नु बाहेक अन्य उपलब्धि भने खासै छैनन् । त्यो समयमा दुर्गम क्षेत्रलाई राष्ट्रिय राजधानीसँग जोड्न, विपद् र आपतकालीन स्थितिमा राहत आपूर्ति गर्न, र विदेशबाट आउने पर्यटकलाई सहज प्रवेश गराउन यो सेवा अत्यावश्यक रुपमा रहेको थियो ।
नेपाल एयरलाइन्सले समय अनुसार आफूलाई अघि बढाउन नसक्दा अहिले घाटामा चलिरहेको छ । ऋणको भारी बढ्दै गइरहेको छ भने व्यपार पनि खुम्चिदै गएको छ । निजी क्षेत्रसँग प्रतिप्रर्धा गर्न नसक्नु र नेतृत्वमा आउनेहरु निजीको प्रलोभनमा परेर सरकारी संस्थानर्लाइ कमजोर बनाउँदा नेपाल एयरलाइन्सको साख दिन प्रतिदिन खस्कदो छ । नेपाल एयरलाइन्सले काठमाडौंबाट बढी यात्रु हुने पोखरा, विराटनगर, भैरहवा, नेपालगंज, धनगढी लगायतका क्षेत्रमा उडान गर्न सकेको छैन् । यी विमानस्थलमा निजी क्षेत्रका बिमानहरुले मात्रै उडान गर्दै आएका छन् ।
निजी क्षेत्रका बिमान कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकेको एयरलाइन्सले अन्तराष्ट्रिय उडानमा पनि केही सिमित क्षेत्रमा मात्रै उडान गर्नु परिरहेको छ । आन्तरिक तर्फ यात्रुको संख्या धेरै भएका गन्तव्यमा उडान गर्न नसकिरहेको एयरलाइन्सले हाल नेपालबाट भारतको नयाँदिल्ली, बेङ्लोर, मुम्बईमा उडान भर्दै आएको छ । त्यस्तै हङकङ, मलेसिया, थाइल्यान्ड, जापानको नारिता, कतारको दोहा, युएईको दुबई र साउदी अरबको रियादमा उडान भर्ने गरेको छ । यी गन्तव्यमा निगमले दुई वटा वाइडबडी ए३३० र दुई वटा न्यारोबडी ए३२० विमानमार्फत सेवा दिँदै आएको हो ।
अहिले नेपाल एयरलाइन्ससँग आन्तरिक उडानका लागि जम्मा दुई थान ट्विइनेटर विमान रहेका छन् । दुर्गमका केही विमानस्थलमा सेवा दिइरहेको छ । ती दुई वटा टिवइनेटरमा पनि कुनै प्राविधिक समस्या आएको अवस्थामा सेवा प्रभावित हुने गरेको छ । निकै गौरवशाली इतिहास भए पनि वर्तमान भने निकै कमजोर देखिन्छ । यस्तै अवस्था कायम रहेको अवस्थामा यसको भविष्य पनि कमजोर नै देखिन्छ । ठूलो ऋणको भारमा फसेको एयरलाइन्समा सुधारको कुनै संकेत नै देखिएको छैन । करिब ५० अर्ब ऋणमा रहेको एयरलाइन्सले मुख्य गरि वाइडबडी बिमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको छ । यो ऋण तिर्नका लागि पनि निगमले सरकारसँग आरगुहार माग्दै आइरहेको छ ।
यतिबेला भने निगमले केही सकारात्मक प्रयासहरु भने गरेको देखिन्छ । पछिल्लो समय निगमले अन्तरराष्ट्रिय गन्तव्यमा ग्राउण्ड ह्याण्डलिङ सेवा विस्तार गरेको छ यसबाट निगमको आफ्नो साख उकास्नमा केही सहयोग पुग्ने अनुमान गर्न सकिन्छ । निगमको ग्राउण्ड ह्याण्डलिङ सेवा प्रयोग गर्ने विदेशी विमान कम्पनीहरूको संख्या बढ्दै गइरहेको छ । जसबाट आम्दानी वृद्धि हुने र आर्थिक रुपमा केही सफल हुने देखिन्छ । यसका अलावा यात्रुलाई आकर्षित गर्ने किसिमका कामहरु गर्न सकेको खण्डमा र आन्तरिक गन्तव्यमा पनि उडान गर्न सकेको खण्डमा निगमले आफ्नो पुरानो साखलाई फर्कानउ सक्ने सम्भावना पनि रहन्छ ।
बढी यात्रु हुने क्षेत्रमा आन्तरिक उडान गर्ने, अन्तराष्ट्रिय गन्तव्यहरुमा पनि विस्तार, यात्रु मैत्री सेवा विस्तारमा निगमले ध्यान दिन सकेको खण्डमा अझै पनि यो अवस्थाबाट पार पाउन सकिने देखिन्छ । होइन भने अब पछिका पुस्ताहरुले भने नेपाल एयरलाइन्स भन्ने कम्पनी पनि थियो भन्ने इतिहासमा सिमित हुने जोखिम पनि देखिन्छ । यस तर्फ सम्बन्धीत सकारोकारवाला सबैले ध्यान दिन जरुरी देखिन्छ । पछिल्लो समय सरकारले नेपाल एयरलाइन्सलाई ‘निजीकरण’ गर्ने वा ‘साझेदारी’मा लैजाने भन्ने बहस गरिरहेको छ । तर त्यसमा ठोस निर्णयमा भने पुग्न सकेको देखिदैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस