Like us!
Follow us!
Connect us!
Watch us!

निजामति विधेयकमा भएको षड्यन्त्र स्वीकार्य छैन : प्रचण्ड

अर्थ संसार

मंगलबार, १७ असार २०८२, १५ : १० मा प्रकाशित

निजामति विधेयकमा भएको षड्यन्त्र स्वीकार्य छैन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन्।

मंगलबार पेरिसडाँडामा आयोजित योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकमा सम्बोधन गर्दै प्रचण्डले विधेयकमा नियोजित चलखेल र छेडखानी गरिएको दाबी गरे। उनले दोषी पहिचान गरेर कडा कारबाहीको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।

'संघीय निजामती सेवा विधेयकमा षड्यन्त्र भएको सबैले देख्नुभएको छ,' प्रचण्डले भने, 'कसले बदमासी गर्याे, छानबिन हुनुपर्छ। चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई हामीले अब छुट दिन सक्दैनौं।'

विधेयकबारे विवाद तब चुलिएको थियो जब संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विधेयकभन्दा फरक ढंगले प्रतिनिधि सभामा ‘बाहेक’ भन्ने शब्द थपिएको पाइएको थियो। यसले विधेयकको मर्ममा हेरफेर गरेको भन्दै व्यापक आलोचना सुरु भएको छ।

अध्यक्ष प्रचण्डले परिवर्तनका उपलब्धिहरूमाथि लगातार प्रहार भइरहेको टिप्पणी गर्दै संविधान, गणतन्त्र र जनताले बलिदान दिएर ल्याएका अधिकारहरू उल्ट्याउने प्रयास भइरहेको बताए। 'यथास्थितिवाद र प्रतिगमनको प्रवृत्ति अझै पनि सक्रिय छ। यसविरुद्ध हामीले पार्टीको अभियानमार्फत प्रतिवाद गरेका थियौं, अहिले पनि सतर्क रहनुपर्छ,' उनले भने।

त्यस अवसरमा प्रचण्डले वाइसिएल नेपाललाई पार्टीको विचार, मार्गदर्शन र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ संगठित रूपमा अघि बढ्न निर्देशन दिएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको