नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले कानुन निर्माणमा ढिलाइ भएको भन्दै हतारमा त्रुटिपूर्ण कानुन नबनाउन चेतावनी दिएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसद किराँतीले नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयक २०८१ बारे सैद्धान्तिक छलफल चलिरहेको सन्दर्भमा यस्तो धारणा राखेका हुन्।
उनले १२ वर्षभन्दा बढी समयदेखि कानुन निर्माण हुन नसकेको स्मरण गराउँदै अब कानुन बनाउनैपर्छ भन्ने हतारमा कमजोरी भएको विधेयक पारित गर्न नहुने स्पष्ट पारे।
किराँतीले नेपाल नागरिक उड्डयनको प्रभावकारी सेवा र विकासका लागि यो विधेयक महत्वपूर्ण रहेको बताए। उनले नेपाल अझै पनि युरोपियन युनियनको कालोसूचीमा रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे।
'नेपाल वायुसेवा निगममाथि मात्रै प्रत्यक्ष असर परेको हो,' उनले भने, 'अरू निजी वा विदेशी जहाज त रोकिएका छैनन्। तर नेपालको ध्वजावाहक उड्न नपाउने अवस्था बनेको छ, जसले अन्तर्राष्ट्रिय समुदायमा नेपालप्रति नकारात्मक सन्देश गएको छ।'
उनले यस्ता संवेदनशील विधेयकमाथि गहिरो छलफल आवश्यक रहेकोमा जोड दिंदै त्रुटिपूर्ण कानुनले उल्टो असर पार्न सक्ने चेतावनी दिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस