दरमखोला हाईड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि जारी गरेको प्रथम चरणको प्राथमिक सेयर (आईपीओ) निष्कासनमा आवेदन दिन आज असार २३ गते अन्तिम दिन हो।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ २० गते अनुमति दिएको थियो। सो अनुमतिअनुसार, कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत, अर्थात् ३९ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गरिरहेको हो। यस अन्तर्गत प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३९ लाख ५० हजार कित्ता सेयर जारी गरिनेछ। जसमध्ये १० लाख ३० हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि र २ लाख ९१ हजार १५० कित्ता नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेको हो।
आयोजना प्रभावितका लागि छुट्याइएको सेयरमा गुल्मीको मुसिकोट नगरपालिका, बाग्लुङको गल्कोट नगरपालिका र बाग्लुङकै बडिगाढ गाउँपालिकामा स्थायी बसोबास गर्ने नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।
आवेदन सीमा:
न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
आवेदन फाराम उपलब्ध स्थानहरू:
-: बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको वेबसाइट र बानेश्वरस्थित कार्यालय
-: थापाथलीस्थित दरमखोला हाईड्रोको कार्यालय र वेबसाइट
-: नेपाल धितोपत्र बोर्डको वेबसाइट
-: आयोजना प्रभावित क्षेत्रका बैंक तथा वित्तीय संस्था:
- ग्लोबल आइएमई बैंक, वामी शाखा
- लक्ष्मी सनराइज बैंक, गल्कोट शाखा
- प्रभु बैंक, गल्कोट शाखा
- दरमखोला पावरहाउस कार्यालय
वैदेशिक रोजगारीमा गएका नेपालीहरूले धितोपत्र बोर्डबाट स्वीकृत सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनीहरूको शाखा कार्यालय तथा मेरो सेयर प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्। पहिलो चरणको आईपीओ बाँडफाँड पश्चात् कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याउनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस