Like us!
Follow us!
Connect us!
Watch us!

कुलिङ पिरियड प्रकरण: छानबिन समितिमा कांग्रेस नेतृत्व अस्वीकार्य – रास्वपा

अर्थ संसार

सोमबार, २३ असार २०८२, १४ : ५३ मा प्रकाशित

कुलिङ पिरियड प्रकरण: छानबिन समितिमा कांग्रेस नेतृत्व अस्वीकार्य – रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती सेवा विधेयकमा कुलिङ पिरियडसम्बन्धी हेरफेरको छानबिन गर्न बनेको संसदीय विशेष समितिमा नेपाली कांग्रेसको नेतृत्व स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ।

रास्वपाका सांसद मनिष झाले विधेयकको सबैभन्दा गम्भीर र महत्त्वपूर्ण व्यवस्थामै छेडछाड गरी सांसदहरूलाई नै धोका दिने काम गरिएको आरोप लगाए। उनले कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा हेरफेर गरेर संसदीय अभ्यासमा ‘कलंकित कथा’ बुनिएको टिप्पणी गरे।

'संसदीय छानबिन समिति बन्ने कुरा थाहा थियो र त्यसमा हाम्रो सहमति पनि थियो,' सांसद झाले भने, 'तर जसमा औँला उठ्दैछ, उसैको नाम जोडेर समिति बनाउनु भएको छ, जुन कुरा तपाईंहरूले बिर्सिनुभयो।'

नेपाली कांग्रेसको नेतृत्वमा गठित सात सदस्यीय समितिमाथि प्रश्न उठाउँदै रास्वपाले निष्पक्ष छानबिनमा शंका व्यक्त गरेको छ।

झाले भिजिट भिसा प्रकरणमा पनि रास्वपाको आन्दोलन जारी रहेको स्मरण गराउँदै भने, 'संगठित अपराध भिजिट भिसामार्फत भइरहेको छ भन्ने हाम्रो आन्दोलन जारी छ, तर त्यही क्रममा संसदीय अभ्यासमा अर्को कलंक थपियो।'

रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लामो समयदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन आयोगको गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्। सरकारले दुवै प्रकरणमा छानबिन समिति गठन गरिसकेको भए पनि रास्वपाले ती समितिको विश्वसनीयता र निष्पक्षतामाथि प्रश्न उठाउँदै आएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको