चालु आर्थिक वर्षको पहिलो ११ महिनामा बैंकहरूले (मार्जिन प्रकृतिको कर्जा) करिब ४३ प्रतिशतले वृद्धि गरेका छन्।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ मसान्तसम्म कुल १ खर्ब २८ अर्ब ६७ करोड १० लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भइसकेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्य (असार मसान्त) मा यो कर्जा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ थियो।
सोही आधारमा हेर्दा ११ महिनाको अवधिमा थप ३८ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ, जुन ४२.८ प्रतिशतको वृद्धिदर हो। यो वृद्धि सेयर बजारमा लगानीकर्ताको सक्रियता र बैंकहरूको कर्जा प्रवाह रणनीतिमा आएको परिवर्तनको संकेतको रूपमा लिइएको छ।
तथ्यांकअनुसार, १ करोड रुपैयाँभन्दा माथिको कर्जा लिने समूहमा सबैभन्दा बढी वृद्धि देखिएको छ। यो रेन्जमा ८८ अर्ब ४२ करोड ७ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ, जुन अघिल्लो असारमा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ थियो। यसरी यो रेन्जमा ५८.१ प्रतिशत कर्जा वृद्धि भएको हो।
त्यस्तै, ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्रवाह पनि उल्लेखनीय रूपमा बढेको छ। यस रेन्जमा कर्जा १५ अर्ब ३० करोड २ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको असारमा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ थियो। यसले देखाउँछ कि यो रेन्जको कर्जामा २३.१ प्रतिशत वृद्धि भएको छ।
मझौला तथा साना कर्जामा पनि उल्लेख्य वृद्धि
२५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा रेन्जमा पनि उल्लेख्य वृद्धि देखिएको छ। अघिल्लो असारमा १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह भएकोमा जेठसम्म यो कर्जा १६ अर्ब ८७ करोड ५० लाख रुपैयाँ पुगेको छ। यसमा १७ प्रतिशतको वृद्धि देखिन्छ।
२५ लाख रुपैयाँसम्मको कर्जा प्रवाह पनि अघिल्लो वर्षको तुलनामा १०.४ प्रतिशत बढेर ८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो असारमा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस