पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै महतले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउनुभन्दा पहिला नेप्सेको पुनर्संरचना गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले नीतिगत स्पष्टताबिना हतारमा निर्णय गर्दा बजारमा थप जटिलता उत्पन्न हुनेतर्फ सरकार सचेत हुनुपर्ने समेत बताए । ‘नेप्सेका साथीहरूले यहाँ प्रस्तुति दिनुभयो, विश्वमा ब्रोकरहरूले नै पुँजी लगानी गरेर स्टक एक्सचेन्ज चलाउने प्रचलन छैन । केही सीमित देशमा बाहेक यो मोडल सफल मानिँदैन’ उनले भने ।
उनले नेप्सेको पुनर्संरचनाको प्रस्ताव अर्थ मन्त्रालयमा विचाराधीन रहेको उल्लेख गर्दै सोही विषयलाई प्राथमिकता दिनुपर्ने तर्क गरे । डा. महतले नियामक निकायको भूमिका र समितिको कार्यक्षेत्र फरक रहेको बताए । ‘समितिले नियामक निकायलाई निर्देशन दिने हो, तर निर्णय गर्ने अधिकार नियामक निकाय (धितोपत्र बोर्ड) को नै हो । हामीले यहाँबाट नीतिगत स्पष्टतासहितको निर्देशन दिनुपर्छ,’ उनले भने । डा. महतले सेयर बजारमा साना लगानीकर्ताको हित संरक्षण सबैभन्दा महत्त्वपूर्ण विषय भएको समेत बताए । उनले नेप्सेको पुनर्संरचना गर्दा कुनै पनि एउटा समूहको एकाधिकार नहुने गरी स्वामित्व निर्धारण गरिनुपर्ने बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस