अबदेखि लघुवित्त संस्थाले ऋणमा लागू गर्ने ब्याजदरलाई अझ स्पष्ट, पारदर्शी र नियमनसंगत बनाउनु पर्नेछ। राष्ट्र बैंकले बिहीबार लघुवित्तका लागि जारी गरेको संशोधित एकीकृत निर्देशनमार्फत अब ब्याजदर निर्धारण गर्दा दुई प्रकारका दर – स्थिर र परिवर्तनशील – दुवै सार्वजनिक गर्नुपर्ने व्यवस्था लागू गरेको हो।
नयाँ व्यवस्थाअनुसार, लघुवित्त संस्थाले जब ऋण प्रदान गर्छ, तब ग्राहकले स्थिर ब्याजदर वा परिवर्तनशील ब्याजदरमध्ये एउटालाई रोज्न सक्नेछन्। यो निर्णय ग्राहकको रोजाइअनुसार कर्जा सम्झौतामै स्पष्ट उल्लेख गरिनुपर्नेछ।
परिवर्तनशील ब्याजदरमा कर्जा दिँदा, प्रस्तावपत्रमा उल्लेख गरिएको प्रिमियम कर्जा अवधि भर परिवर्तन गर्न पाइने छैन।
स्थिर ब्याजदरमा भने कर्जा अवधिभरको ब्याजदर प्रस्तावपत्रमै तय हुन्छ र त्यसमा कुनै फेरबदल गर्न पाइँदैन।
यसरी कुनै पनि ब्याजदर प्रणाली छनोट गर्दा, ग्राहकलाई ऋणको सम्पूर्ण शर्तहरू एकदमै स्पष्ट र बुझिने गरी जानकारी दिनुपर्नेछ।
लघुवित्तले आफ्नो मासिक आधार दर तयार गरी महिनाको अन्त्यपछिको १५ दिनभित्र राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ।
सोही दर आफ्नो आधिकारिक वेबसाइटमा पनि प्रकाशित गर्नुपर्नेछ।
आगामी त्रैमासमा लागू हुने ब्याजदरको सूचना पनि त्रैमास सुरु हुनु अघिनै शाखा र वेबसाइटमार्फत सार्वजनिक गरिनुपर्नेछ।
त्यसैगरी, ब्याजदर प्रकाशन गर्दा प्रत्येक कर्जा शीर्षकअनुसार आधार दरमा थप गरिने प्रिमियम दर छुट्टै उल्लेख गर्नुपर्नेछ। ग्राहकलाई यो जानकारी लोन कार्ड, पासबुक, एसएमएस, वा समूह बैठकमार्फत दिनुपर्नेछ।
वार्षिक पेनाल ब्याजदर २ प्रतिशतभन्दा बढी राख्न पाइने छैन।
किस्ता म्याद नाघेपछि लगाइने पेनाल्टी मूलधनमा मात्र लाग्न सक्नेछ; त्यसमा पुनः ब्याजको गणना गर्न नपाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस