नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ६० करोड रुपैयाँ संस्थागत निक्षेपको रूपमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूमा राख्न प्रस्ताव आह्वान गरेको हो ।
रकम लगानीको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूले (आज) असार २९ गतेसम्म आफ्नो संस्थाले संस्थागत निक्षेपको रूपमा राख्न चाहेको रकम र दिन चाहेको ब्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्नेछ । यसरी राखिने रकमको अवधि ३६६ दिन अर्थात् २०८२ साउन ४ गतेदेखि २०८३ साउन ४ गतेसम्म रहेको छ । लगानीको लागि छुट्याइएको कुल रकममध्येमा वाणिज्य बैंकहरूको लागि ४८ करोड, विकास बैंकहरूको लागि ९ करोड र फाइनान्स कम्पनीहरूको लागि ३ करोड रुपैयाँ रहेको छ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको हुनुपर्नेछ ।
यीबाहेक तोकिएको न्यूनतम कुल पुँजीकोष (बफरसहित) कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको ८ प्रतिशतभन्दा कम भएको, खुद निष्क्रिय कर्जा ३ प्रतिशत ननाघेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरू तोकिएका छन् ।
कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा–व्यवस्थापछिकोमा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरू तोकिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस