चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा वाणिज्य बैंकहरुको नाफा करिब ५ प्रतिशतले गिरावट आएको छ । हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुको नाफा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा गत आवको सोही अवधिको तुलनामा ४.९७ प्रतिशतले घटेको हो ।
२० वटा बैंकहरुले यो अवधिमा कुल ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा कमाएका छन् । गत आवको ११ महिनाको अवधिमा भने वाणिज्य बैंकहरुले कुल ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ नाफा कमाएका थिए । वाणिज्य बैंकहरुको नाफा पछिल्लो एक महिनाको अवधिमा मात्रै ६ अर्ब १७ करोड ८७ लाख रुपैयाँले वृद्धि भएको छ । वैशाख महिनासम्मको अवधिमा बैंकहरुको यस्तो नाफा ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको जेठ महिनासम्मको अवधिमा सबै भन्दा धेरै नाफा कमाउने बैंकको शीर्ष स्थानमा नबिल बैंक रहेको छ । बैंले गत आवको सोही अवधिको तुलनामा १.१० प्रतिशतले नाफा वृद्धि गरेको छ । यो बैंकको नाफा ६ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । त्यस्तै धेरै नाफा कमाउने बैंकको दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । यो बैंकको नाफा १८.५९ प्रतिशतले बढेर ६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । धेरै नाफा कमाउने बैंकको तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २९.८३ प्रतिशतले वृद्धि गरे ५ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएको छ । त्यस्तै यो अवधिसम्ममा नेपाल बैंकले कुल ३ अर्ब ७० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १८५.२७ प्रतिशतले धेरै हो ।
यो अवधिमा एभरेष्ट बैंकको नाफा २८ प्रतिशतले बढेर ४ अर्ब २४ करोड रुपैयाँ, नेपाल बैंकको १८५.२७ प्रतिशतले बढेर ३ अर्ब ७ करोड रुपैयाँ र एनएमबि बैंकको ९.१८ प्रतिशतले बढेर ३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै यो अवधिमा लक्ष्मी सनराइज बैंकको नाफा ८.६३ प्रतिशतले बढेर २ अर्ब ५७ करोड ९ लाख रुपैयाँ, सानिमा बैंकको ३.१३ प्रतिशतले बढेर २ अर्ब १५ करोड ५ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकको १७.५३ प्रतिशतले बढेर १ अर्ब ५० करोड ९ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै यो अवधिमा प्राइम कमर्सियल बैंकको नाफा १८.२९ प्रतिशतले घटेर २ अर्ब ९० करोड, स्टान्र्डड चार्टड बैंकको ९.७० प्रतिशतले घटेर २ अर्ब ७२ करोड, प्रभु बैकको २३.८० प्रतिशतले घटेर २ अर्ब ३१ करोड, सिद्धार्थ बैंकको २.२९ प्रतिशतले घटेर २ अर्ब २१ करोड र राष्ट्रिय वाणिज्य बैंकको २८.०९ प्रतिशतले घटेर २ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै सिटिजन्स बैंकको नाफा १९.६६ प्रतिशतले घटेर १ अर्ब ४१ करोड १ लाख रुपैयाँ, कृषि विकास बैंकको ३९.८५ प्रतिशतले घटेर १ अर्ब ८१ करोड ९ लाख रुपैयाँ, कुमारी बैंकको नाफा ७७.८४ प्रतिशतले घटेर ३७ करोड १० लाख रुपैयाँ पुगेको छ । एनआईसी एशिया बैंकको ६२.८८ प्रतिशतले घटेर ८२ करोड र हिमालयन बैंकको ६७.२७ प्रतिशतले घटेर ९० करोड रुपैयाँमा सिमित भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस