Like us!
Follow us!
Connect us!
Watch us!

'बजारका लागि उपयुक्त निति आएकाले बजार बढेको हो, ४ हजार विन्दु माथि पुग्न सक्छ'

अर्थ संसार

बुधबार, ३२ असार २०८२, १७ : ४८ मा प्रकाशित

'बजारका लागि उपयुक्त निति आएकाले बजार बढेको हो, ४ हजार विन्दु माथि पुग्न सक्छ'

चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन सेयर बजारले उत्साहजनक सुधार देखाएको छ। नेप्से परिसूचक ३४ अंकले वृद्धि भएर कारोबार बन्द भएको हो। मौद्रिक निति सार्वजनिक भएपछि पहिलो दिन बजार उकालो लागेको थियो, दोस्रो दिन केही घटे पनि त्यसपछिका दुई दिन लगातार वृद्धि हुँदै बजार सकारात्मक धारमा अगाडि बढेको हो।

लगानीकर्ताहरूका अनुसार बजारको पछिल्लो सुधारमा मौद्रिक निति, बैंकहरूको घट्दो ब्याजदर, र बजारमैत्री गभर्नरको भूमिका महत्वपूर्ण देखिएको छ।

नेपाल इन्भेष्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारका अनुसार सेयर बजारका लागि अहिले सबै कुरा सकारात्मक रहेकाले बजार वृद्धिमा सहयोग पुगेको छ । आर्थिक वर्षको सकिनु, बजेट पनि बजार मैत्री आउनु, त्यस पछि मौद्रिक निति पनि बजारमैत्री आइदिनाले बजार बढ्नमा सहयोग पुगेको उनले बताए ।

‘आजै मात्रै बैंकको ब्याजदर पनि कम भएको अवस्था छ । यसले पनि बजारलाई सहयोग नै गर्छ,’ उनले भने । मौद्रिक निति सार्वजनिक भएको भोलिपल्ट बढेको बजार त्यस पछिको दिनमा घट्नुमा आर्थिक वर्षको दबाब रहेकाले त्यस्तै भएको उनको भनाइ छ । कुनै पनि रेकर्ड तोडिनका लागि नै बन्ने भएकाले बजारको उच्च विन्दु र उच्च कारोबार पनि तोडिने उनले बताए । ‘कुनै पनि रेकर्ड तोडिनलाई बन्ने हो । बजारको उच्चतम विन्दु ३२ सय र उच्चतम कारोबार करिब ३० अर्बको हो । यो पनि तोडिन्छ,’ उनले भने । अहिलेको बजार खुकुलो नीतिका कारणले बढेको रौनियारको भनाइ छ । 

सेयर बजारले मौद्रिक नितिलाई पर्खेको र बजार मैत्री निति आएकाले बजार बढेको र अझै बढ्ने लगानीकर्ता गोपाल स्वामीको भनाइ छ । ‘अहिले बैंकको ब्याजदर पनि घट्यो, मौद्रिक नितिले पनि बजारलाई सकारात्मक प्रभाव पार्ने किसिमबाट निति ल्याएकाले बजार बढेको हो,’ उनले भने । बजार अहिले पनि बुल चरणमै रहेको र लगानीकर्ताको मनोबल समेत बढेकाले बजार बढेको उनले बताए । 

अहिले बजारमा नयाँ पैसा आएको र लगानीकर्ताको मनोबल पनि बढेकाले बजार बढेको नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलको भनाइ छ । ब्याजदर घट्नु, मौद्रिक नीतिले पनि खुकुलो निति अबलम्बन गर्नु र बजारमा पैसा आएका कारणले छोटो समयका लागि बजारलाई सपोट हुने भएकाले बजार बढ्नमा मदत पुगेको उनले बताए । दीर्घकालीन रुपमा बजार बढ्नका लागि स्थिर पोलिसी आवश्य पर्ने उनको भनाइ छ । दीर्घकालीन पोलिसी बनाउनका लागि सरकारले ध्यान दिनु पर्ने उनको भनाइ छ । बजारमा पैसा आएको र त्यसले माग बढाएको अवस्थामा बजारले गति लिएको उनी बताउँछन् । बजार ४ हजार विन्दुसम्म पनि पुग्न सक्ने उनले बताए । ‘अहिले बजारमा पैसा आएको छ । लगानीकर्ताको मनोबल बढेको छ । यसले बजारमा माग बढाएको छ । जसले बजार बढ्नमा सहयोग पुगेको छ,’ उनले भने, ‘अहिलेको अवस्थामा सरकारले केही पोलिसीमा परिवर्तन गर्न वित्तिकै बजार ४ हजार विन्दुसम्म पुग्न सक्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको