गत आर्थिक वर्ष २०८१/८२ मा सेयर बजारमा कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । गत आर्थिक वर्षमा बजारका अन्य परिसूचकमा पनि उल्लेख्य सुधार भएको नेप्सेले जनाएको छ ।
तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा ७ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ बराबरको धितोपत्रको कारोबार भएकोमा आर्थिक वर्ष २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा १८९.२३ प्रतिशतले बढी हो । यस अघि आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै रकम (रु.१४ खर्ब ५४ अर्ब ४४ करोड) को कारोबार भएको थियो ।
यसैगरी वर्ष २०८१ को असार मसान्तमा रु. ३५ खर्ब ५३ अर्ब ६७ करोड रहेको बजार पुँजीकरण २०८२ असार मसान्तमा ३१.०५ प्रतिशतले वृद्धि भई ४६ खर्ब ५६ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को अन्तसम्ममा सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ । उक्त आर्थिक वर्षमा मर्जर तथा एक्विजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटेका छन् भने प्रथम सार्वजनिक निष्कासन मार्फत ४ वटा कम्पनी थपिएका छन् । प्रथम निष्कासन मार्फत ३ करोड ६५ लाख कित्ता सेयर, थप निष्कासन मार्फत ११ लाख २० हजार कित्ता सेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको ४ करोड ३२ लाख ५८ कित्ता सेयर, सामुहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाई र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएको नेप्सेका प्रवक्ता मराहरी पराजुलीले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस